९ भदौ २०८३, मंगलबार

अष्ट्रेलियामा आवास संकटः सबै मुख्य शहरमा औसत आम्दानीको आधाभन्दा बढी हिस्सा घरभाडामै खर्च

प्रकाशित मिति :  25 August, 2026 9:08 am


काठमाडौँ । अष्ट्रेलियाका सबै मुख्य शहरहरूमा औसत आम्दानीको आधाभन्दा बढी हिस्सा घरभाडामा खर्च हुने गरेको एक प्रतिवेदनले देखाएको छ ।

सोमवार सार्वजनिक गरिएको एभ्रिबडिज होम नामक आवास वकालत समूहको प्रतिवेदनअनुसार देशका सबै राजधानी सहरहरूमा एउटा फ्ल्याट ९युनिट० भाडामा लिन औसत राष्ट्रिय आम्दानीको ५० प्रतिशतभन्दा बढी रकम खर्च गर्नुपर्ने अवस्था छ ।

प्रतिवेदनकाअनुसार, वार्षिक ७० हजार अष्ट्रेलियाली डलर कमाउने व्यक्तिको आम्दानीको ५६ प्रतिशत हिस्सा राष्ट्रिय औसत घरभाडा तिर्नमै खर्च हुने गरेको छ । त्यसैगरी, वार्षिक ४० हजार अष्ट्रेलियाली डलर कमाउने व्यक्तिका लागि आवास खर्च कुल आम्दानीको ८९ प्रतिशत पुग्छ भने वार्षिक १ लाख डलर आम्दानी गर्नेहरूले समेत आफ्नो कमाइको ४१ प्रतिशत हिस्सा भाडामै खर्च गर्नुपर्ने बाध्यता रहेको छ ।

अष्ट्रेलियाका आठवटै मुख्य शहरहरूमा औसत कमाइ गर्ने कर्मचारीहरूले एउटा युनिटको औसत भाडा तिर्न आफ्नो आम्दानीको कम्तीमा ५१ प्रतिशत खर्च गर्नुपर्ने देखिएको छ । सिड्नीमा ७० हजार अष्ट्रेलियाली डलर कमाउने व्यक्तिले आफ्नो आम्दानीको ६९ प्रतिशत हिस्सा साप्ताहिक घरभाडामै खर्च गर्नुपर्छ, जुन अन्य सबै सहरहरूको तुलनामा उच्च अनुपात हो ।

अष्ट्रेलियाली तथ्याङ्क विभागको तथ्याङ्कअनुसार अगस्ट २०२५ सम्ममा अष्ट्रेलियाली कर्मचारीहरूको औसत वार्षिक तलब ७४ हजार १०० अष्ट्रेलियाली डलर रहेको छ । आवास वकालत समूहकी प्रतिनिधि माई अजिजले सरकारले सार्वजनिक र सामुदायिक आवास निर्माणबाट हात झिकेका कारण देशमा गम्भीर आवास संकट उत्पन्न भएको बताएका छन् ।

‘संघीय सरकारले ठूलो मात्रामा सार्वजनिक र सामुदायिक आवासहरू निर्माण गर्न आवश्यक छ । अष्ट्रेलियालाई आगामी १५ वर्षभित्र करिब १० लाख यस्ता घरहरूको आवश्यकता पर्ने देखिन्छ ।’ अजिजले भने । न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !