भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण
काठमाडौं । रसुवाको भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ घरधुरीलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद राहत वितरण गरेको छ।
विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले उपलब्ध गराएको सहयोग स्थानीय तहसँगको समन्वयमा एकद्वार प्रणालीमार्फत वितरण गरिएको हो। राहत वितरणमा दोहोरोपना हुन नदिन स्थानीय तहले पहिचान गरेका प्रभावित परिवारलाई सहायता उपलब्ध गराइएको सरकारले जनाएको छ।
सरकारका अनुसार रसुवाका पाँच, नुवाकोटका चार र धादिङका दुई गरी ११ वटा स्थानीय तहका बाढी प्रभावित परिवारले उक्त रकम पाएका छन्।
तथ्यांक प्रमाणीकरण हुन बाँकी रहेका करिब १ हजार ४०० घरधुरीलाई पनि तीन दिनभित्र राहत रकम वितरण गरिसक्ने सरकारको तयारी छ।
गत असोज २३ गते बसेको केन्द्रसहित तीनवटै जिल्लाका मनसुन प्रतिकार्य कमाण्ड पोस्टको संयुक्त बैठकले विपद् प्रभावित घरधुरीको पहिचान, प्रमाणीकरण र शीघ्र पुनर्लाभका कामलाई व्यवस्थित गर्ने निर्णय गरेको थियो।
रेडक्रससहित अन्य विकास साझेदारले पनि नगद सहयोग उपलब्ध गराउन चाहेकाले ‘विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड, २०८१’ अनुसार सहायता वितरण गर्न सरकारले स्थानीय तह र सम्बन्धित निकायलाई निर्देशन दिएको छ। कोही पनि प्रभावित परिवार नछुट्ने र एउटै परिवारले दोहोरो सहायता नपाउने गरी राहत वितरण गर्ने सरकारको योजना छ।
यसैबीच, बाढी प्रभावितहरूको दीर्घकालीन पुनर्स्थापना तथा व्यवस्थापनका लागि पनि काम भइरहेको सरकारले जनाएको छ।








