धादिङका १७ राजमार्ग होटल तथा रेस्टुरेन्टको स्तरीकरण, दुईवटा उत्तम, १४ वटालाई सामान्य स्तर
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले धादिङका राजमार्ग क्षेत्रमा रहेका १७ होटल तथा रेस्टुरेन्टको स्तरीकरण गरेको छ। विभागले गल्छी, थाक्रे र धुनिबेँसी क्षेत्रमा गरेको निरीक्षणका क्रममा दुईवटालाई उत्तम, एउटालाई सन्तोषजनक र १४ वटालाई सामान्य स्तरमा वर्गीकरण गरेको हो।
सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुलाई खाना तथा खाजा उपलब्ध गराउने राजमार्गका होटलमा सरसफाइको कमी, बासी तथा कम गुणस्तरको खाना र अत्यधिक मूल्य लिइएको भन्ने जनगुनासो आएपछि विभागले निरीक्षण गरेको जनाएको छ।
सम्बन्धित निकायबीच भएको छलफल र यातायात व्यवस्था विभागले असोज २७ गते जारी गरेको सूचना कार्यान्वयन गर्ने क्रममा विभागले सोही दिन निरीक्षण टोली खटाएर होटल तथा रेस्टुरेन्टको स्तरीकरण गरेको हो।
विभागका अनुसार गल्छी गाउँपालिका–४ स्थित विपल क्राउन रिसोर्ट र धुनिबेँसी–१ स्थित ट्रान्जिट हाउस रेस्टुरेन्टले ‘उत्तम’ स्तर प्राप्त गरेका छन्। यी दुवै होटलले दुई तारा अंकित हरियो ‘बी’ स्टिकर पाएका छन्।
त्यस्तै, थाक्रे–२ स्थित न्यू काष्ठमण्डप होटल ‘सन्तोषजनक’ स्तरमा परेको छ। उक्त होटलले एक तारा अंकित हरियो ‘सी’ स्टिकर पाएको छ।
बाँकी १४ होटल तथा रेस्टुरेन्टलाई ‘सामान्य’ स्तरमा वर्गीकरण गरी पहेँलो ‘डी’ स्टिकर प्रदान गरिएको विभागको विवरणमा उल्लेख छ।
सामान्य स्तरमा वर्गीकरण भएका होटल तथा रेस्टुरेन्टमा थाक्रे–१ को होटल न्यू नमस्ते नेपाल एन्ड कोल्ड स्टोर, थाक्रे–६ को थकाली भान्सा घर, गल्छी–६ को जुनतारा रेस्टुरेन्ट एन्ड लज, थाक्रे–१ को कान्तिपुर होटल एन्ड लज, थाक्रे–६ को द वा.सी कोल्ड स्टोर, थाक्रे–८ को रिया होटल र न्यू सुपा उराली होटल रहेका छन्।
त्यसैगरी, धुनिबेँसी–१ को हाइवे ब्रेक पोइन्ट कोल्ड स्टोर, थाक्रे–६ को श्री अन्नपूर्ण होटल, थाक्रे–२ को होटल सयपरी, धुनिबेँसी–१ को हाइवे किङ फास्टफुड एन्ड रेस्टुरेन्ट, धुनिबेँसीको न्यू आधिखोला होटल, धुनिबेँसी–१ को न्यू पाण्डे खाजा घर एन्ड लज र थाक्रे–१ को न्यू पाथीभरा होटल पनि सामान्य स्तरमा वर्गीकृत भएका छन्।
विभागले राजमार्गका होटल तथा रेस्टुरेन्टमा यात्रुले स्वच्छ, गुणस्तरीय र उचित मूल्यमा खाना तथा खाजा पाउने वातावरण सुनिश्चित गर्ने उद्देश्यले स्तरीकरण गरेको जनाएको छ।











