सात महिनामा १२ खर्ब ६१ अर्ब रूपैयाँ रेमिट्यान्स भित्रियो
काठमाडौँ । आर्थिक वर्ष २०८२÷८३ को सात महिनामा १२ खर्ब रूपैयाँभन्दा बढी विप्रेषण आप्रवाह भएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९.८ प्रतिशतले बढेको हो । चालू आर्थिक वर्षको ७ महिनामा १२ खर्ब ६१ अर्ब १ करोड रूपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.५ प्रतिशतले बढेको थियो । २०८२ माघ महिनामा विप्रेषण आप्रवाह एक खर्ब ९८ अर्ब ८ करोड रूपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह एक खर्ब ३७ अर्ब ५० करोड रूपैयाँ रहेको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३३.० प्रतिशतले वृद्धि भई ८ अर्ब ८६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.५ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १३ खर्ब ८४ अर्ब २७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ९ खर्ब ८६ अर्ब ३४ करोड रूपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या २ लाख ४५ हजार १५३ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख २७ हजार ४२४ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः २ लाख ७४ हजार ६२२ र एक लाख ९० हजार ८८६ रहेको थियो ।








