२ चैत्र २०८२, सोमबार

सहमतिको बाटोबाट एनआरएनएको नेतृत्व : हेमराज शर्मा अध्यक्ष चयन

प्रकाशित मिति :  16 March, 2026 6:40 am


काठमाडाैँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नेतृत्व अन्ततः सहमतिको बाटोबाट टुंगिएको छ। अध्यक्ष पदका लागि प्रतिस्पर्धा हुने सम्भावना रहे पनि अन्तिम समयमा अन्य उम्मेदवारले नाम फिर्ता लिएपछि हेमराज शर्मा सर्वसम्मत रूपमा अध्यक्ष चयन भएका छन्।

अध्यक्ष पदका लागि प्रारम्भिक रूपमा हेमराज शर्मा, रोबिन शेरचन र रबिन बज्राचार्यले उम्मेदवारी दिएका थिए तर संगठनभित्र सहमतिको वातावरण बनाउनका लागि शेरचन र बज्राचार्यले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि शर्माको नेतृत्वमा नयाँ कार्यसमिति बन्ने सहमति भएको हो ।

एनआरएनए निर्वाचन समितिले अध्यक्षसहित कार्यसमितिका सबै पदाधिकारीको विवरण एकै पटक सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ। समितिका अनुसार निर्वाचन प्रक्रियाभन्दा सहमतिमार्फत नेतृत्व चयन गर्ने अभ्यासलाई यस पटक प्राथमिकता दिइएको हो।

शनिबारदेखि सुरु भएको एनआरएनएको १२ औं अधिवेशन आज सम्पन्न हुँदैछ। अधिवेशनको समापन समारोह आइतबार साँझ पाँच बजे आयोजना गरिने सचिवालयले जनाएको छ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रधानमन्त्री सुशीला कार्की सहभागी हुने बताइएको छ। अधिवेशनबाट नयाँ नेतृत्व चयनसँगै आगामी कार्यकालमा एनआरएनएको भूमिका, प्रवासी नेपालीको हित र नेपालसँगको सम्बन्ध सुदृढ गर्ने विषयमा नयाँ कार्यदिशा तय हुने अपेक्षा गरिएको छ।



प्रतिक्रिया दिनुहोस !