पेट्रोलियम पदार्थको मूल्य बढ्यो : पेट्रोलमा १५ र डिजेल-मट्टितेलमा १० रुपैयाँ मूल्य वृद्धि
दाङ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्यका कारण निगमले पेट्रोल तथा डिजेल–मट्टीतेलको भाउ समायोजन गरेको जनाएको छ।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँका दरले मूल्य बढाइएको हो। नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेल प्रतिलिटर १५२ रुपैयाँ कायम भएको छ।
निगमले भारतीय आयल कर्पोरेसनबाट आएको नयाँ मूल्यसूचीअनुसार लागत बढेको जानकारी दिएको छ। निगमका अनुसार भारतबाट पेट्रोल प्रतिलिटर ३१ रुपैयाँ, डिजेल ५४ रुपैयाँ र एलपी ग्यास २१६ रुपैयाँसम्म महँगो भएर आएको छ।
यसअघि पनि पटक–पटक मूल्य समायोजन गर्दै आएको निगमले अन्तर्राष्ट्रिय बजारको मूल्यअनुसार भाउ समायोजन गर्नुपर्ने बाध्यता रहेको जनाएको छ।
निगमका अनुसार बढेको नयाँ मूल्य गए राति १२ बजेदेखि लागू भएकाे छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै यातायात, उपभोग्य वस्तु तथा दैनिक जीवनयापनको खर्चमा थप दबाब पर्ने अनुमान गरिएको छ।








