२३ चैत्र २०८२, सोमबार

जलवायु संकट समाधानका लागि सबै क्षेत्रको सहकार्य अपरिहार्यः मन्त्री चौधरी

प्रकाशित मिति :  6 April, 2026 11:09 am


काठमाडौँ । कृषि तथा पशुपंक्षी विकास, वन तथा वातावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तन वातावरणीय समस्या मात्र नभएर आर्थिक र सामाजिक संकटको रूपमा देखापरेको बताएकी छन् ।

काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री चौधरीले यस्तो बताएकी हुन । उनले नेपालजस्ता न्युन कार्बन उत्सर्जन गर्ने मुलुकहरूले समेत जलवायु परिवर्तनको असर भोग्नुपरेको उल्लेख गरे । उनले हिमनदी पग्लिने, बेमौसमी वर्षा, बाढीपहिरो र खडेरीजस्ता समस्याले जनजीवन र विकास प्रक्रियामा गम्भीर अवरोध सिर्जना गरेको बताइन ।

जलवायु प्रतिकार्यका लागि अन्तर्राष्ट्रिय प्रतिवद्धताअनुसार राष्ट्रिय निर्धारित योगदान (एनडिसी) तयार गरी पेस गरिसकेको उल्लेख गर्दै उनले त्यसको प्रभावकारी कार्यान्वयन मुख्य चुनौती रहेको बताइन । उनले जलवायु संकटको दिगो समाधानका लागि तीनै तहका सरकार, निजी क्षेत्र, नागरिक समाज र सञ्चारमाध्यमबीचको बलियो सहकार्य अपरिहार्य रहेको बताइन ।

उनले वन तथा जैविक विविधता संरक्षणमा नेपालले हासिल गरेको उपलब्धिलाई अन्तर्राष्ट्रिय स्तरले समेत प्रशंसा गरेको चर्चा गर्दै वातावरणीय सन्तुलन कायम राख्नु सबैको साझा जिम्मेवारी भएको बताइन।

जलवायु परिवर्तनको असर कम गर्न तथा जलवायु प्रतिकार्यका लागि सरोकारवाला सबै जिम्मेवार हुन जरुरी रहेको उनको भनाइ छ । न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !