नेपालकाे आर्थिक वृद्धिदर २.७ प्रतिशतमात्र हुने एडिबीकाे प्रक्षेपण
काठमाडौँ । एसियाली विकास बैंक (एडिबीले) पनि चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र २.७ प्रतिशतमात्र वृद्धि हुने प्रक्षेपण गरेको छ, जुन आव २०२५ को ४.६ प्रतिशतको तुलनामा कम हो।
मुलुकमा विद्यमान राजनीतिक अस्थिरता र पश्चिमय एसियामा जारी द्वन्द्वका कारण आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्ध दर उल्लेख्य रूपमा सुस्त हुने बैंकको प्रमुख आर्थिक प्रकाशन ‘एसियन डेभलपमेन्ट आउटलुक (एडिओ) अप्रिल २०२६’ मा उल्लेख छ ।
गत भदौमा भएको जेनजी आन्दोलन र त्यसपछिको लामो राजनीतिक अनिश्चितताले उत्पादन र लगानीका गतिविधिहरू प्रभावित हुँदा वृद्धि दरमा यो संकुचन हुने बैंकले बताएको छ । यसअघि विश्व बैंकले पनि सोही कुरा बताएको थियो ।
मनसुनमा भएको ढिलाइ र २०८२ कात्तिकको बाढीका कारण धान उत्पादनमा करिब ४.२ प्रतिशतले ह्रास आउने अनुमान गरिएको प्रतिवेदनमा उल्लेखछ । बैंकका अनुसा यसले समग्र कृषि क्षेत्रको वृद्धि दरलाई ३.३ प्रतिशतबाट घटाएर २.७ प्रतिशतमा झार्नेछ।
त्यसैगरी, औद्योगिक क्षेत्रतर्फ पनि लगानीकर्ताको कमजोर आत्मविश्वास र पुँजीगत खर्चमा भएको ढिलाइले उत्पादन तथा निर्माण गतिविधि सुस्त हुँदा वृद्धि दर २.८ प्रतिशतमा खुम्चिने जनाइएको छ।
सेवा क्षेत्र पनि थोक तथा खुद्रा व्यापारमा आएको शिथिलता र घरजग्गा कारोबारमा देखिएको मन्दीले गर्दा सेवा क्षेत्रको विस्तार २.८ प्रतिशतमा सीमित हुने प्रतिवेदनमा उल्लेख छ।
पश्चिम एसियाको युद्धका कारण वसन्तकालीन पर्वतारोहणको समयमा हवाई उडानहरूमा अवरोध आउन सक्ने जोखिमले पर्यटन क्षेत्रको आयमा नकारात्मक असर पार्न सक्ने चेतावनी प्रतिवेदनले दिएको छ।
युद्धले नेपालको मुद्रास्फीति र बाह्य क्षेत्रमा पनि दबाब सिर्जना गरेको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्नाले ढुवानी र सेवाको लागत महँगो हुने हुँदा आगामी वर्ष मुद्रास्फीति ४.५ प्रतिशतसम्म पुग्ने प्रक्षेपण गरिएको छ।
खाडी मुलुकबाट आउने रेमिट्यान्समा आउन सक्ने सम्भावित कमीले चालू खाता बचतलाई पनि प्रभावित तुल्याउने प्रतिवेदनमा उल्लेख छ। द्वन्द्वले नेपालको ‘करेन्ट एकाउन्ट सरप्लस’ (चालु खाता बचत) को विस्तारमा बाधा पुऱ्याउने अपेक्षा गरिएको छ।
रेमिट्यान्स र निर्यातमा हुने मध्यम वृद्धिका कारण यो आव २०२५ को ६.७ प्रतिशतबाट बढेर आव २०२६ मा ७.२ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ।
“गत वर्षको नागरिक अशान्ति र मध्यपूर्वको द्वन्द्व लगायतका राजनीतिक अनिश्चितताका बीच आव २०२६ मा देशको आर्थिक वृद्धिमा उल्लेख्य गिरावट आउनेछ,” नेपालका लागि एडिबीका कन्ट्री डाइरेक्टर अर्नाड काउचोइसले भने, “पुनः कायम भएको राजनीतिक स्थिरताले सुधारहरूलाई सहयोग पुग्ने र आर्थिक आत्मविश्वास बढ्ने अपेक्षा गरिए पनि द्वन्द्वका कारण ठूला जोखिमहरू बाँकी नै छन्, जसले इन्धनको मूल्य, पर्यटन र रेमिट्यान्स प्रवाहलाई असर गरिरहेको छ।”
यद्यपि यी प्रक्षेपणहरू १० मार्चसम्मको तथ्याङ्कमा आधारित भएको बैंकले प्रष्ट पारेको छ जसमा पश्चिम एसियाको युद्ध छिट्टै समाधान हुने अनुमान गरिएको थियो। यद्यपि, त्यसयताका घटनाक्रमहरूले अवरोधहरू अझै लामो समयसम्म कायमै रहने सम्भावना देखाएका छन्।








