ढिँडो र भक्कासँगै सुरु भयो मौलिक परिकार मेला, १५ पालिकाको सहभागिता र बुफेमा ५० प्रतिशत छुट
काठमाडौं। स्थानीय उत्पादनको प्रवर्द्धन र मौलिक खानपानको संरक्षण गर्ने उद्देश्यसहित ‘स्थानीय उत्पादन र मौलिक परिकार प्रवर्द्धन मेला २०८३–०८४’ शनिबारदेखि काठमाडौंमा सुरु भएको छ।
नयाँ वर्ष २०८३ को अवसर पारेर आयोजना गरिएको मेला बानेश्वरस्थित मौलिक बजार तथा मौलिक भान्छाघर परिसरमा सञ्चालन भइरहेको छ।
डिग फर नेपाल र वल्ड मार्ट युनिक सोलुसन्स (मौलिक बजार तथा मौलिक भान्छाघर) को संयुक्त आयोजनामा सुरु भएको मेला आगामी ६४ हप्तासम्म हरेक शनिबार सञ्चालन हुने जनाइएको छ।
वैशाख ५ गतेदेखि सुरु भएको मेलामा स्थानीय उत्पादनको प्रवर्द्धन, २१ प्रकारका रैथाने परिकारसहितको ढिँडो बुफे, तथा सरोकारवालासँग नीतिगत बहसलाई मुख्य प्राथमिकतामा राखिएको आयोजकले जनाएको छ।
मेलाको शुभारम्भ बिहान बुढानीलकण्ठ–१० स्थित कपनमा रहेको मौलिक भान्छाघरको डेमोन्स्ट्रेशन प्लटमा वृक्षारोपण कार्यक्रममार्फत गरिएको थियो।
कार्यक्रममा डिग फर नेपालका अध्यक्ष नारायणप्रसाद सिग्देल, महासचिव सुमन दाहाललगायत अभियन्ताहरूको सहभागिता रहेको थियो। त्यसपछि बानेश्वरमा औपचारिक रूपमा मेला सञ्चालनमा ल्याइएको हो।
आयोजकका अनुसार सातै प्रदेशका ३५ स्थानीय तहसँग सम्झौता भइसकेको छ। पहिलो दिन १५ स्थानीय तहका प्रतिनिधिहरू उपस्थित भई आफ्ना उत्पादन प्रदर्शन गरेका छन् भने बाँकी स्थानीय तहको सहभागिता आगामी सातादेखि पूर्ण रूपमा हुने जनाइएको छ।
मेलाको पहिलो दिन सुदूरपूर्व र सुदूरपश्चिमलाई जोड्ने विशेष आकर्षण प्रस्तुत गरिएको थियो। बाजुराको बुढीनन्दा नगरपालिकाका मेयर जनक कुमार बोहरा र ताप्लेजुङको मैवाखोला गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमले संयुक्त रूपमा ढिँडो र भक्का पकाएर मौलिक परिकारको प्रदर्शन गरेका थिए, जसले मेलामा थप रौनकता थपेको थियो।
मेलामा २१ प्रकारका रैथाने परिकार समेटिएको ‘ढिँडो बुफे’मा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ। आयोजकले सामूहिक तथा अग्रिम बुकिङमा २५ प्रतिशतसम्म छुट दिने व्यवस्था पनि मिलाइएको जनाएको छ।
आयोजकका अनुसार मेलामार्फत ग्रामीण क्षेत्रका उत्पादनलाई सहरसम्म पुर्याउने, साना किसानलाई उचित मूल्य दिलाउने र स्थानीय रोजगारी सिर्जनामा टेवा पुर्याउने लक्ष्य राखिएको छ। साथै, मौलिक संस्कृति संरक्षण गर्दै स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने अपेक्षा गरिएको छ।
मेला हरेक शनिबार बिहान ७ बजेदेखि दिउँसो १२ बजेसम्म सञ्चालन हुनेछ। साथै, मेलालाई डिजिटल माध्यमबाट पनि विस्तार गरिने जनाइएको छ, जसअनुसार उपभोक्ताले घरमै बसेर स्थानीय उत्पादन अर्डर गर्न र डेलिभरी सेवा लिन सक्नेछन्।








