कृषिमा उद्योग जोड्ने नीतिको माग, कार्यान्वयन कमजोर हुँदा परिणाम शून्य
काठमाडौं । नेपालजस्तो कृषि प्रधान देशमा कृषिमा आधारित स्पष्ट र कार्यान्वयनयोग्य नीति आवश्यक रहेकोमा सरोकारवालाहरूले जोड दिएका छन्।
एसोसिएसन अफ एग्रीकल्चर टेक्नोलोजी इण्डष्ट्री नेपालले बिहीबार आयोजना गरेको ‘कृषि उद्योग उत्पादन राष्ट्रिय नीति संवाद’ कार्यक्रममा वक्ताहरूले कृषिलाई प्राथमिकतामा राख्दै उद्योगसँग जोडेर अघि बढाउनुपर्ने आवश्यकता औँल्याएका हुन्।
कार्यक्रममा प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समितिका सभापति भरतबहादुर खड्काले नीति निर्माण भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा कृषि क्षेत्र अपेक्षित रूपमा अघि बढ्न नसकेको टिप्पणी गरे।
विगतमा खाद्यान्न निर्यात गर्ने अवस्थाबाट अहिले आयातमा निर्भर हुनुपरेको अवस्थाबारे गम्भीर समीक्षा आवश्यक रहेको उनको भनाइ थियो। वास्तविक किसानसम्म अनुदान नपुग्नु पनि कृषि विस्तारमा बाधक बनेको उनले उल्लेख गरे।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीले आयातमुखी कृषि प्रणालीकै कारण समस्या जटिल बन्दै गएको भन्दै यसबारे सम्बन्धित निकायहरूसँग समन्वय र छलफल अगाडि बढाइने जानकारी दिए।
स्वदेशमै कृषि उद्यममार्फत जीविकोपार्जन गर्ने वातावरण सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले कृषिमा प्रविधि भित्र्याएर उद्योगसँग जोड्ने नीति आवश्यक रहेको धारणा राखे ।
सांसद गङ्गालक्ष्मी अवालले वातावरणमैत्री तथा प्राङ्गारिक कृषि प्रणाली विकासमा जोड दिँदै किसानप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन आवश्यक रहेको बताइन् ।
किसानलाई अन्नदाताको रूपमा उच्च सम्मान दिने सामाजिक सोच विकास गर्नुपर्ने उनको भनाइ थियो।
कानुन, न्याय तथा मानवअधिकार समितिका सदस्य सांसद मदनकृष्ण श्रेष्ठले नेपालमा करिब ६२ प्रतिशत जनसङ्ख्या कृषिमा निर्भर रहेकाले कृषि नीति तथा कानुन निर्माणमा विशेष प्राथमिकता दिनुपर्ने बताए । उनले कृषि क्षेत्र नै सबैभन्दा सम्भावनायुक्त क्षेत्र भएको उल्लेख गरे ।
सांसद गीता लिङ्देनले कृषि क्षेत्रमा देखिएका संरचनात्मक समस्या समाधानका लागि नीतिगत पहल आवश्यक रहेको भन्दै त्यसका लागि आफूले पहल गर्ने प्रतिबद्धता जनाइन् ।
कार्यक्रमका आयोजक तथा एसोसिएसन अफ एग्रीकल्चर टेक्नोलोजी इण्डष्ट्री नेपालका अध्यक्ष खोजराज कटुवालले कृषि नीति उत्पादनमुखी र उद्योगमैत्री हुनुपर्नेमा जोड दिए । कृषिमा आधुनिकीकरण र यान्त्रिकीकरणको नाममा वर्षौंदेखि उपकरण वितरण हुँदै आए पनि देशभित्रै कृषि औजार उत्पादन गर्ने उद्योग स्थापना हुन नसक्नु दुःखद् भएको उनको भनाइ थियो।
“नीति निर्माण गर्दा उत्पादन, प्रशोधन र बजारलाई एकीकृत रूपमा जोड्ने दृष्टिकोण आवश्यक छ,” उनले भने, “त्यसका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने र स्वदेशी उद्योगको संरक्षण गर्ने खालका नीतिहरू अपरिहार्य छन्।”








