रोल्पा जिप दुर्घटनामा मृत्यु भएका परिवारलाई राहतसँगै सहयोग उपलब्ध गराउन प्रचण्डको आग्रह
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोल्पामा जिप दुर्घटनामा परेर ज्यान गुमाएकाहरूको परिवारलाई राहतले मात्रै नपुगने भन्दै सहयोग उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।
आज रुकुम पूर्वको सिस्ने गाउँपालिकामा भएको पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले मृतकका परिवारलाई राहतमात्रै नभएर सहयोग समेत उपलब्ध गराउन आग्रह गरेका हुन् ।
प्रचण्डले दुर्घटनापछि उद्धारका लागि सरकार, नेपाली सेना, प्रहरी र सरकारको नेतृत्व गरिरहेको पार्टीका सभापति रवि लामिछानेसँग बिहीबार नै फोन गरेर समन्वय गरेको जानकारी दिए ।
प्रचण्डले भने,“अब ती पीडितहरू, जो मृत्युवरण गरेका छन् उनीहरूका बालबच्चाको निम्ति र उनीहरूका परिवारको निम्ति राज्यको तर्फबाट राहत तथा सहयोग उपलब्ध गराउनुपर्छ भन्ने कुराको मैले सरकारलाई पनि सम्बन्धित अन्य निकायहरूलाई पनि ध्यानाकर्षण गराएको छु ।”
उद्धार र राहतले मात्रै नपुग्ने भएकोले त्यसका निम्ति सहयोगको खाँचो रहेको उनले बताए । प्रचण्डले भने,“उनीहरूका बालबच्चा पढाउनेदेखि अन्य परिवारको स्थिति हेरेर राज्यको तर्फबाट सहयोग गर्नुपर्छ र मैले यो कुरा कुरा सरकारसमक्ष पु¥याइसकेको छु ।”
रुकुम पूर्वको सिस्ने गाउँपालिकाबाट रोल्पाको जलजला जाँदै गरेको जिप दुर्घटना हुँदा २० जनाको मृत्यु भएको थियो ।








