२५ बैशाख २०८३, शुक्रबार

काठमाडौंलाई सडक मानवमुक्त बनाउन तिलगंगामा ‘स्क्रिनिङ सेन्टर’ सञ्चालन, पहिलो दिन ३६ जनाको उद्धार

प्रकाशित मिति :  6 May, 2026 10:52 am


काठमाडौं । काठमाडाैँ  महानगरपालिकाले ‘सडक मानवमुक्त’ बनाउने अभियानलाई तीव्रता दिँदै पशुपति क्षेत्रको तिलगंगामा स्क्रिनिङ (होल्डिङ) सेन्टर सञ्चालनमा ल्याएको छ। महानगरपालिका, पशुपति क्षेत्र विकास कोष र मानव सेवा आश्रमको संयुक्त पहलमा वैशाख २२ गतेदेखि वडा नं. ८ स्थित तिलगंगामा उक्त केन्द्र सञ्चालनमा आएको हो।

अभियानको पहिलो दिन पशुपति क्षेत्रका विभिन्न स्थानबाट ३६ जना सडक आश्रित तथा सहयोगापेक्षी व्यक्तिहरूको उद्धार गरिएको महानगरले जनाएको छ। उद्धार गरिएकामध्ये २८ जनालाई स्क्रिनिङ सेन्टरमा राखिएको छ भने केही व्यक्तिहरू पर्खाल नाघेर भागेका थिए। उद्धार गरिएकामध्ये ५० प्रतिशतभन्दा बढीलाई सोही दिन साँझसम्म परिवारसँग पुनर्मिलन गराइएको पनि महानगरको भनाइ छ।

महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले मंगलबार केन्द्रको स्थलगत निरीक्षण गर्दै पूर्वाधार, स्वास्थ्य सेवा र व्यवस्थापनको अवस्थाबारे जानकारी लिनुभएको थियो। निरीक्षणका क्रममा उहाँले उद्धार गरिएका व्यक्तिहरूसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको पारिवारिक अवस्था र सडकमा आउनुपर्ने कारणबारे चासो व्यक्त गर्नुभयो। उहाँले सडकमा आश्रितहरूको व्यवस्थापन गर्दा पारिवारिक पुनर्मिलनलाई पहिलो प्राथमिकता दिइने र असहाय तथा बेवारिसेलाई मात्र आश्रममा राखिने स्पष्ट पार्नुभयो।

महानगरले हाल बिहान, दिउँसो र राति गरी तीन सिफ्टमा उद्धार टोली परिचालन गरिरहेको छ। विशेषगरी पशुपति लगायत धार्मिक तथा पुरातात्विक क्षेत्रमा सडक आश्रितहरूको संख्या बढी भएकाले ती क्षेत्रमा केन्द्रित भएर अभियान सञ्चालन भइरहेको जनाएको छ। स्क्रिनिङ सेन्टर सञ्चालनमा आएपछि उद्धार गरिएका व्यक्तिहरूको वास्तविक अवस्था पहिचान गर्न सहज हुने र अभियानले थप गति लिने विश्वास महानगरले लिएको छ।

कार्यवाहक प्रमुख डंगोलका अनुसार केन्द्रले उद्धार गरिएका व्यक्तिहरूलाई पारिवारिक अवस्था, असहायता, अशक्तता र स्वास्थ्य अवस्थाका आधारमा वर्गीकरण गरी उचित व्यवस्थापन गर्न सहयोग पुर्‍याउनेछ। यस अभियानमार्फत कोही पनि नागरिक भोकै बस्न नपरोस् र कसैले पनि सडकमा कष्टपूर्ण जीवन बिताउन नपरोस् भन्ने उद्देश्य राखिएको उहाँले बताउनुभयो। साथै यसले सडकमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रणमा पनि योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

पहिलो दिन उद्धार गरिएकामध्ये ६ जना महिला र २२ जना पुरुष रहेका छन्। उनीहरूको उमेर २५ देखि ७८ वर्षसम्म रहेको छ। ठेगानाका आधारमा उनीहरू सोलुखुम्बु, सर्लाही, मकवानपुर, सुनसरी, मोरङ, बारा, महोत्तरी, खोटाङ, धनकुटा, सुर्खेत र दोलखा लगायतका जिल्लाका छन्। उद्धार गरिएकामध्ये चार जनामा मानसिक स्वास्थ्य समस्या देखिएको छ भने एक जना ज्येष्ठ नागरिक कुकुरको टोकाइबाट घाइते भएका छन्। ह्विलचेयर तथा वैशाखी प्रयोग गर्ने व्यक्तिहरूलाई समेत केन्द्रमा ल्याएर आवश्यक उपचार र स्याहारको व्यवस्था मिलाइएको छ।

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुवासचन्द्र जोशीले केन्द्रको पूर्वाधारलाई अझ व्यवस्थित र सुरक्षित बनाउन कोषले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। महानगरले सडकमा अलपत्र, बिरामी वा असहाय अवस्थामा रहेका व्यक्तिहरू देखिएमा मानव सेवा आश्रमले सार्वजनिक गरेको टेलिफोन नम्बरमा सम्पर्क गर्न नागरिकहरूलाई अनुरोध गरेको छ।

कार्यवाहक प्रमुख डंगोलले यस अभियानलाई सफल बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै समाजका सबै तह र वर्गलाई हातेमालो गर्न आह्वान गर्नुभएको छ। उहाँले ‘जसको कोही छैन, उसका लागि सरकार छ’ भन्ने अनुभूति दिलाउने उद्देश्यका साथ अभियान अघि बढाइएको बताउनुभयो।



प्रतिक्रिया दिनुहोस !