चट्याङले बिगारेको ट्रान्सफर्मर बदलिँदा ६५ घण्टापछि स्याङ्जाको वालिङ–भीरकोटमा विद्युत् सेवा पुनः सञ्चालन
काठमाडौं । चट्याङका कारण ट्रान्सफर्मरमा क्षति पुग्दा अवरुद्ध बनेको स्याङ्जाको वालिङ र भीरकोट नगरपालिका क्षेत्रको विद्युत् सेवा करिब ६५ घण्टापछि पुनः सञ्चालनमा आएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सचिवालयले सक्रिय समन्वय गर्दै आपतकालीन समाधानको व्यवस्था गरेपछि विद्युत् आपूर्ति पुनः सुचारु भएको हो ।
गत आइतबार बिहानदेखि विद्युत् सेवा अवरुद्ध हुँदा करिब १३ हजार सेवाग्राही प्रभावित भएका थिए । घरायसी उपभोक्ता, स्वास्थ्य संस्था, सञ्चार सेवा तथा अन्य अत्यावश्यक सेवा प्रभावित भएपछि स्थानीय स्तरमा असहज स्थिति सिर्जना भएको थियो ।
उक्त क्षेत्रमा बुटवल पावर कम्पनीमार्फत विद्युत् वितरण हुँदै आएकोमा चट्याङका कारण मुख्य ट्रान्सफर्मरमा ठूलो क्षति पुगेको थियो । मर्मतका लागि तीन साताभन्दा बढी समय लाग्ने प्रारम्भिक अनुमान आएपछि तत्काल वैकल्पिक उपाय अपनाइएको हो ।
समस्याको समाधानका लागि नेपाल विद्युत प्राधिकरणको हेटौंडास्थित कार्यालयबाट ३ एमभीए क्षमताको ट्रान्सफर्मर झिकाएर स्याङ्जामा जडान गरिएको छ । प्राधिकरणले बुटवल पावर कम्पनीलाई आवश्यक सहयोगस्वरूप उक्त ट्रान्सफर्मर भाडामा उपलब्ध गराएपछि सेवा पुनः सञ्चालनमा सहजता आएको हो ।
स्थानीय बासिन्दा, नेपाल विद्युत प्राधिकरणका प्राविधिक टोली तथा बुटवल पावर कम्पनीका कर्मचारीहरूको संयुक्त प्रयास र अन्तरनिकाय समन्वयमा छोटो समयमै आपतकालीन मर्मत सम्पन्न गरी विद्युत् सेवा पुनः सञ्चालन गरिएको हो ।
यस घटनाले विपद् व्यवस्थापन र पूर्वाधार मर्मतमा संस्थागत समन्वयको महत्त्व झन् उजागर गरेको सरोकारवालाहरूले बताएका छन् ।








