प्रधानमन्त्रीलाई घनश्याम भुसालको चेतावनीः ओलीको जस्तै नियति भोग्नु नपरोस्
काठमाडाैँ । नेकपा (संयुक्त)का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले प्रधानमन्त्री बालेन्द्र शाहलाई विगतका सरकारका असफलताबाट पाठ सिकेर अघि बढ्न सुझाव दिएका छन् ।
बुधवार काठमाडौंको बबरमहलस्थित सडकमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले प्रधानमन्त्री घनश्याम भुसाल ले वर्तमान सरकार नेतृत्व गरिरहेका बालेन्द्र शाह शक्तिशाली अवस्थामा रहेको उल्लेख गर्दै त्यस शक्ति प्रयोग गर्दा गल्ती गर्ने छुट नरहेको चेतावनी दिए।
भुसालले विगतमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली लाई पनि आफ्नो कार्यकालमा सचेत गराएको स्मरण गर्दै सुझावलाई बेवास्ता गर्दा राजनीतिक र संस्थागत रूपमा ठूलो मूल्य चुकाउनुपरेको दाबी गरे । उनका अनुसार नेतृत्वमा रहेका व्यक्तिले समयमै कमजोरी सुधार नगरे दीर्घकालीन रूपमा गम्भीर परिणाम भोग्नुपर्ने हुन्छ।
उनले अहिलेको सरकार असफल भए त्यसको असर केवल सरकारमा रहेका दल वा नेतृत्वमा मात्र सीमित नहुने भन्दै सम्पूर्ण नागरिकले मूल्य तिर्नुपर्ने अवस्था आउने बताए । भुसालले इतिहासलाई उपहास गर्ने शैलीमा होइन, त्यसबाट सिकेर अघि बढ्नुपर्नेमा जोड दिए।
कार्यवाहक अध्यक्ष भुसालले आफ्नो व्यक्तिगत राजनीतिक अनुभवलाई उदाहरण दिँदै आफूले विगतमा दिएका सल्लाहहरू स्वीकार भएको भए फरक परिणाम आउन सक्ने धारणा पनि राखे। उनले आफ्नो असफलताबाट समेत भविष्यका नेतृत्वले सिक्न सके त्यसलाई व्यक्तिगत रूपमा उपलब्धि ठान्ने उल्लेख गरे।
उनले शक्ति र लोकप्रियता स्थायी नहुने भन्दै नेतृत्वले जिम्मेवारीपूर्वक निर्णय लिन नसके चाँडै नै राजनीतिक संकट निम्तिन सक्ने चेतावनी पनि दिए।








