पठाओ नेपालका प्रबन्ध निर्देशक असीममानसिंह बस्न्यात पदबाट बाहिरिए
काठमाडौँ । नेपालमा राइड–शेयरिङ सेवाको अग्रणी प्लेटफर्मका रूपमा परिचित पठाओ नेपालका प्रबन्ध निर्देशक असीममानसिंह बस्न्यात पदबाट बाहिरिएका छन् । सन् २०१८ मा नेपालमा सेवा विस्तारसँगै सुरु भएको पठाओले देशमा राइड–शेयरिङ संस्कृतिको विकासमा उल्लेखनीय भूमिका खेलेको मानिन्छ ।
स्थापनाकालदेखि नै कम्पनीसँग आबद्ध रहेका उनले आफ्नो कार्यकाल मंगलबार आठ वर्ष पूरा भएपछि जिम्मेवारीबाट अलग भएको जनाइएको छ । उनी स्वयंले पनि पूर्वनिर्धारित योजनाअनुसार समयमै नेतृत्व हस्तान्तरण गरेको संकेत गरेका छन् ।
उनको नेतृत्वकालमा पठाओ नेपालले काठमाडौँबाट सेवा सुरु गर्दै क्रमशः देशका विभिन्न शहरहरूमा विस्तार गरेको थियो । बाइक राइडिङ सेवाबाट सुरु भएको प्लेटफर्म अहिले खाना डेलिभरी, लजिस्टिक्स तथा अन्य डिजिटल सेवासमेत प्रदान गर्ने बहुआयामिक प्लेटफर्मका रूपमा विकसित भएको छ ।
हाल पठाओ नेपाल काठमाडौँ उपत्यकासहित देशका विभिन्न प्रदेशमा सञ्चालनमा छ । यसले गिग अर्थतन्त्रको विस्तारमा समेत महत्वपूर्ण योगदान दिएको बताइन्छ ।
कम्पनीले बस्न्यातको योगदानप्रति आभार व्यक्त गर्दै आगामी दिनमा नयाँ नेतृत्वमार्फत सेवा विस्तार र प्रविधिगत सुधारलाई निरन्तरता दिने जनाएको छ ।








