४ जेष्ठ २०८३, सोमबार

निर्माण व्यवसायीमाथि सरकारले अमानवीय व्यवहार गर्‍योः महासचिव घिमिरे

प्रकाशित मिति :  18 May, 2026 1:43 pm


काठमाडाैँ । निर्माण व्यवसायी महासंघका महासंचिव शिवहरी घिमिरेले निर्माण व्यवसायीमाथि सरकारले अमानवीय व्यवहार गरिरहेको आरोप लगाएका छन् ।

खानेपानी तथा ढल व्यवस्थापन विभागलाई ज्ञापनपत्र बुझाउन पुगेका घिमिरेले सरकारी निकायले निर्माण व्यवसायीलाई काम गर्न दबाब दिँदै बैंक ग्यारेन्टी तान्ने चेतावनीसमेत दिइरहेको बताए । उनकाअनुसार सरकारी अधिकारीहरुले जसरी भएपनि काम गर, नगरे बैंक ग्यारेन्टी तानिन्छ भन्ने दबाब दिइरहेका छन् ।

यो अमानवीय व्यवहार रहेको उनको भनाइ छ । मूल्यवृद्धिअनुसारको मूल्य समायोजन नभएसम्म निर्माण व्यवसायीले काम गर्न नसक्ने अवस्था रहेको बताउँदै घिमिरेले सरकारले मूल्य समायोजन, म्याद थप, बैंक ग्यारेन्टी र इन्स्योरेन्सलगायतका विषय तत्काल सम्बोधन गर्नुपर्ने बताए । 

सरकारसँग भएको वार्तामा मूल्य समायोजन दिने आश्वासन दिइए पनि सरकारी अधिकारीहरूबाट त्यसबारे स्पष्ट प्रतिवद्धता नआएको उनकाे गुनासो छ । आयोजना प्रमुख तथा सरकारी कर्मचारीहरूले निर्माण व्यवसायीलाई मूल्यवृद्धिअनुसार मूल्य समायोजन दिनुपर्छ भनेर आवाज नउठाएको समेत उनले बताए ।

महासचिव घिमिरेले भने, “नेपाल सरकारका अधिकारीहरूमध्ये कसैले पनि स्पष्ट रूपमा मूल्य संमायोजनको प्रतिवद्धता व्यक्त गर्नुभएको छैन । आयोजना प्रमुखलगायत सरकारी कर्मचारीहरूले पनि निर्माण व्यवसायीलाई मूल्यवृद्धिका कारण मूल्य समायोजन दिनुपर्छ भनेर आवाज उठाएको मैले देखेको छैन । बरु, उहाँहरूले उल्टै ‘काम गर्नुपर्छ, जसरी भएपनि काम गर। काम गरेनौ भने बैंक ग्यारेन्टी तानिदिन्छौँ’ भन्ने दबाब दिइरहनुभएको छ ।”

यसअघि सडक विभाग तथा जलस्रोत तथा सिंचाई मन्त्रालयमा पनि ज्ञापनपत्र बुझाइसकिएको उनले जानकारी दिए । साथै, ७७ वटै जिल्ला र सातै प्रदेशमा समेत निर्माण व्यवसायीहरूले निरन्तर रूपमा ज्ञापनपत्र बुझाउने कार्यक्रम सञ्चालन गरिरहेको उनको भनाइ छ । 



प्रतिक्रिया दिनुहोस !