१०० एसईई उत्तीर्णलाई एनसेल छात्रवृत्ति
काठमाडौँ । एनसेल फाउन्डेसनले माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण १०० जना विद्यार्थीलाई ‘एनसेल एसईई छात्रवृत्ति’ प्रदान गर्ने घोषणा गरेको छ ।
प्रोजेक्ट शिक्षासँगको सहकार्यमा सञ्चालन हुने कार्यक्रमअन्तर्गत विद्यार्थीलाई कक्षा ११ र १२ अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराइने एनसेलले जनाएको छ । छात्रवृत्ति सातै प्रदेशमा सञ्चालन गरिने लिखित परीक्षा र अन्तर्वार्ताका आधारमा प्रदान गरिनेछ ।
एनसेलका अनुसार कार्यक्रमले देशभरका प्रतिभाशाली विद्यार्थीलाई उच्च शिक्षाको अवसरसँग जोड्ने लक्ष्य राखेको छ । विशेषगरी आर्थिक सहयोग आवश्यक पर्ने तथा अवसरबाट वञ्चित विद्यार्थीलाई प्राथमिकतामा राखिने जनाइएको छ ।
छात्रवृत्ति प्राप्त विद्यार्थीले १२ महिनासम्म लिमिटेड डेटा र भ्वाइस सेवासहितको निःशुल्क सञ्चार सुविधा पनि प्राप्त गर्नेछन् । यसले विद्यार्थीलाई अध्ययन, सूचना र विभिन्न अवसरसँग निरन्तर जोडिन सहयोग पुग्ने एनसेलको भनाइ छ ।
प्रोजेक्ट शिक्षासँगको यस सहकार्यमार्फत हामी एसईई उत्तीर्ण युवा विद्यार्थीहरूलाई उनीहरूको सपना पूरा गर्न सहयोग गर्दै उच्च शिक्षाका लागि गुणस्तरीय शिक्षामा पहुँच सुनिश्चित गर्न चाहेकाे एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्काले बताइन् ।
खड्काले भनिन्, “भौगोलिक अवस्था र आर्थिक परिस्थितिले युवाहरूको भविष्य निर्धारण गर्नु हुँदैन भन्ने हाम्रो विश्वास हो । प्रदेशस्तरीय परीक्षा र पारदर्शी छनोट प्रक्रियामार्फत हामी त्यस्ता विद्यार्थीहरूसम्म पुगिरहेका छौँ, जसमा क्षमता छ तर अवसरको अभाव छ । यस पहलमार्फत हामी सुदृढ र समावेशी भविष्य निर्माणमा योगदान पुर्याइरहेका छौँ ।”
हन्ड्रेड ग्रुपद्वारा सञ्चालित प्रोजेक्ट शिक्षाले पनि थप ५० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने जनाएको छ । सन् २०१७ देखि सञ्चालनमा रहेको कार्यक्रममार्फत एसईई उत्तीर्ण विद्यार्थीलाई विभिन्न शैक्षिक अवसर उपलब्ध गराउँदै आइएको छ ।
गत वर्ष पनि एनसेल फाउन्डेसनले देशभरका ५० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको थियो । हाल ती विद्यार्थी विभिन्न शैक्षिक संस्थामा कक्षा १२ मा अध्ययनरत रहेको एनसेलले जनाएको छ ।








