कृषि तथा पशुधन बिमामा १ लाख ६२ हजारभन्दा बढी पोलिसी, ३६ अर्बभन्दा बढी बिमा कारोबार
काठमाडौं । कृषि तथा पशुधन बिमा कार्यक्रमअन्तर्गत यो वर्ष १ लाख ६२ हजार १० वटा बिमा पोलिसीमार्फत रु. ३६ अर्ब ८४ करोड ४९ लाख ४७ हजार बराबरको बिमा गरिएको पाइएको छ।
महालेखापरीक्षकको विसष्टिौँ वार्षिक प्रतिवेदन, २०८३ अनुसार सो अवधिमा सरकारबाट बिमा अनुदानबापत रु. १ अर्ब ६० करोड १६ लाख ७८ हजार भुक्तानी गरिएको छ। तर रु. ६४ करोड ९६ लाख २ हजार अनुदान रकम अझै भुक्तानी गर्न बाँकी रहेको उल्लेख छ।
प्रतिवेदनअनुसार यस अवधिमा बिमा कम्पनीहरूले किसानलाई रु. १ अर्ब ४२ करोड ४७ लाख बराबरको क्षतिपूर्ति भुक्तानी गरेका छन्।
त्यस्तै, कृषि तथा पशुधन बिमासम्बन्धी सूचना प्रविधि प्रणाली निर्माणका लागि मन्त्रालयले एक सेवा प्रदायक कम्पनीसँग रु. ५७ लाख ४९ हजारमा सम्झौता गरी भुक्तानीसमेत गरिसकेको भए पनि सो प्रणाली अझै पूर्ण रूपमा कार्यान्वयनमा आउन सकेको छैन।
महालेखापरीक्षकले बिमा, बिमा शुल्क, बिमा पोलिसी, क्षतिको दाबी तथा क्षतिपूर्ति भुक्तानीसम्बन्धी सबै विवरण अद्यावधिक गर्न सूचना प्रविधि प्रणालीलाई तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने सुझाव दिएको छ।








