साना तथा मझौला उद्योगको प्रवर्द्धनबिना देशमा आर्थिक क्रान्ति असम्भवः सुरकृष्ण वैद्य
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले साना तथा मझौला उद्यमीहरूको प्रवर्द्धन र विकासबिना देशमा आर्थिक क्रान्ति सम्भव नहुने बताएका छन्।
नेपाल घरेलु तथा साना उद्योग महासंघका पदाधिकारीहरूसँगको भेटघाट कार्यक्रममा बोल्दै उनले मुलुकको आर्थिक समृद्धिका लागि साना उद्योगहरूको व्यवस्थापन, उद्यमशीलताको विकास तथा औद्योगिक क्रान्ति अपरिहार्य रहेको बताए।
वैद्यले घरेलु तथा साना उद्योग महासंघले केन्द्रदेखि जिल्ला तहसम्म पुगेर गरिरहेको कामको प्रशंसा गर्दै सरकारले यस क्षेत्रका समस्या र आवश्यकतालाई प्रत्यक्ष रूपमा सम्बोधन गर्नुपर्नेमा जोड दिए। उनले महासंघको नेतृत्वमा रहँदा वस्तुगत संघ, जिल्ला–नगर उद्योग वाणिज्य संघ तथा साना तथा मझौला व्यवसायीहरूलाई समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
उनले साना तथा मझौला उद्यमीहरूको विकास, उद्यमशीलता प्रवर्द्धन तथा तालिम कार्यक्रमजस्ता विषयमा निजी क्षेत्रका संस्थाहरूले एउटै धारणा बनाएर सरकारसमक्ष प्रस्तुत हुनुपर्ने बताए।
“नेपालमा ठूला उद्योग घरानाभन्दा पनि साना तथा मझौला उद्यमहरूको प्रवर्द्धन, साना उद्योगहरूको व्यवस्थापन र उद्यमीहरूको औद्योगिक क्रान्ति नभएसम्म आर्थिक क्रान्ति सम्भव हुँदैन भन्ने कुरा सबैले बुझेका छन्,” वैद्यले भने, “हामीले उठाउने मुद्दाहरू सबै मिलेर अघि बढाउनुपर्छ।”
सरकारी बजेटबाट सञ्चालन हुने तालिम तथा सीपमूलक कार्यक्रमहरूको प्रभावकारितामाथि प्रश्न उठाउँदै वैद्यले हाल सञ्चालन भइरहेका कार्यक्रमहरूले लक्षित वर्गलाई पर्याप्त रूपमा समेट्न नसकेको बताए।
उनका अनुसार महिला, युवा तथा कृषक लक्षित आर्थिक, सीपमूलक र आयमूलक तालिमहरू स्थानीय सरकारको नेतृत्वमा सञ्चालन भए पनि त्यसको प्राविधिक समन्वय र कार्यान्वयन निजी क्षेत्रका छाता संगठनमार्फत हुनुपर्छ।
नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल घरेलु तथा साना उद्योग महासंघबीचको सहकार्यमा जिल्लास्तरमा तालिम सञ्चालन गर्न सके वास्तविक उद्यमीहरूले अवसर पाउने र तालिमपछि रोजगारी तथा स्वरोजगारका अवसर सिर्जना हुने उनको भनाइ थियो।
वैद्यले आगामी दिनमा दुवै महासंघबीच साझा समिति गठन गरी सरकारसँग प्रभावकारी समन्वय गर्ने योजना रहेको जानकारी पनि दिए।








