सिटिजन्स बैंकले २ अर्बको अग्राधिकार सेयर जारी गर्ने
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्नो पूँजी आधार थप सुदृढ बनाउन २ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिती अग्राधिकार सेयर जारी गर्ने भएको छ। बैंकको आठौं विशेष साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो।
बैंकका अध्यक्ष प्रवलजंग पाण्डेको अध्यक्षतामा सम्पन्न सभाले व्यवसाय विस्तार, जोखिम वहन क्षमता वृद्धि तथा नियामकीय पूँजी आधार बलियो बनाउन प्रिफरेन्स शेयर निष्काशन आवश्यक रहेको निष्कर्ष निकालेको जनाएको छ।
सभाबाट संस्थापक समूहबाट अनिलकुमार ज्ञवाली तथा सर्वसाधारण समूहबाट प्रकाशचन्द्र मैनाली, डा. राजेन्द्र पण्डित र हिमादेवी खड्का केसी सञ्चालकमा निर्वाचित भएका छन्।
बैंकिङ क्षेत्रका जानकारहरूका अनुसार प्रस्तावित सेयर निष्काशन सफल भएमा बैंकको कर्जा विस्तार क्षमता र पूँजी पर्याप्तता अनुपातमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएकाआफ्ना २०० वटा शाखा, १६९ वटा ए।टि।एम।, ३ विस्तारित काउन्टर र ४२ वटा शाखारहित बैंकिङ्ग ईकाइहरुबाट २० लाख ३२हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।








