८ असार २०८३, सोमबार

अमेरिका–इरान समझदारीबारे छलफल गर्न कायरोमा चार देशका विदेशमन्त्रीहरूको बैठक

प्रकाशित मिति :  22 June, 2026 11:12 am


काठमाडौँ । इजिप्ट, पाकिस्तान, साउदी अरब र टर्कीका विदेशमन्त्रीहरूले आईतवार कायरोमा संयुक्त राज्य अमेरिका र इरानबीच हालै सम्पन्न शान्ति समझदारीका विषयमा केन्द्रित रहेर छलफल गरेका छन् ।

बैठकपछि जारी गरिएको एक संयुक्त विज्ञप्तिमा विदेशमन्त्रीहरूले अमेरिका–इरान समझदारीको स्वागत गर्दै यसलाई क्षेत्रीय तनाव कम गर्नका लागि एक रचनात्मक कदमका रूपमा व्याख्या गरेका छन् ।

यस सम्झौताले क्षेत्रीय सुरक्षा, स्थिरता, ऊर्जा बजार, अन्तर्राष्ट्रिय समुद्री मार्ग र विश्वव्यापी आपूर्ति श्रृंखलामा उत्पन्न जोखिमहरू न्युनिकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ । मन्त्रीहरूले यस समझदारीलाई सहज बनाउन भूमिका खेल्ने क्षेत्रीय तथा अन्तर्राष्ट्रिय पक्षहरूको प्रयासको प्रशंसा गर्दै सम्बन्धित पक्षहरूलाई आ–आफ्नो प्रतिवद्धता इमानदारीपूर्वक कार्यान्वयन गर्न आग्रह गरेका छन् ।

साथै, बाँकी रहेका मुद्दाहरूको दिगो, प्रमाणीकरण योग्य र पारस्परिक रूपमा स्वीकार्य समाधान खोज्न वार्ताको आगामी चरणलाई द्रुत गतिमा सफल निष्कर्षमा पु¥याउनुपर्नेमा उनीहरूले जोड दिए ।

क्षेत्रीय सुरक्षा र स्थिरता सुदृढ गर्नका लागि खाडी अरब मुलुक र लेभान्ट क्षेत्रका देशहरूको सुरक्षा चासोलाई सम्बोधन गरिनुपर्ने मन्त्रीहरूको धारणा थियो । गत हप्ता मात्र इरान, अमेरिका र पाकिस्तानले लेबनानसहित यस क्षेत्रमा जारी युद्ध अन्त्य गर्ने विषयमा समझदारी पत्रलाई अन्तिम रूप दिएका थिए ।

यसैबीच, मन्त्रीहरूले प्यालेस्टिनी मुद्दा यस क्षेत्रमा न्यायपूर्ण, व्यापक र दिगो शान्ति स्थापनाका लागि केन्द्रबिन्दु रहेको उल्लेख गरेका छन् । उनीहरूले प्यालेस्टिनी जनताको आत्मनिर्णयको अधिकार र ४ जुन १९६७ को सिमानाका आधारमा पूर्वी जेरुसेलमलाई राजधानी बनाएर स्वतन्त्र प्यालेस्टिनी राज्य स्थापना गर्ने वैध अधिकारप्रति आफ्नो समर्थन पुनः दोहोयाएका छन् ।



प्रतिक्रिया दिनुहोस !