८ असार २०८३, सोमबार

खरिद प्रक्रिया ढिलाइ हुँदा देशभर एन्टीरेबिज खोप अभाव

प्रकाशित मिति :  22 June, 2026 4:57 pm


काठमाडौं । सरकारले समयमै खरिद प्रक्रिया अगाडि नबढाउँदा देशभर एन्टीरेबिज भ्याक्सिन (एआरभी) को अभाव भएको छ। विश्वव्यापी मूल्यवृद्धि, दररेट समायोजनमा भएको ढिलाइ र पश्चिम एशियामा जारी तनावका कारण सरकारले टेन्डर प्रक्रिया समयमै टुंग्याउन नसक्दा अस्पताल तथा स्वास्थ्य संस्थामा खोप आपूर्ति प्रभावित भएको हो।

कुकुर, बाँदरलगायत जनावरले टोकेपछि लगाइने एआरभी खोप अत्यावश्यक मानिन्छ। चिकित्सकहरूका अनुसार जनावरले टोकेपछि सकेसम्म छिटो खोप लगाउनुपर्छ। तर पछिल्ला महिनामा सरकारी स्वास्थ्य संस्थामा खोप अभाव भएपछि बिरामीले सास्ती खेप्नुपरेको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता तथा वरिष्ठ स्वास्थ्य प्रशासक डा. समिरकुमार अधिकारीले विश्वबजारमा खोपको मूल्य बढेका कारण पुरानो दररेटमा खरिद सम्भव नभएको बताए। उनका अनुसार नयाँ दररेटअनुसार टेन्डर प्रक्रिया अघि बढाउँदा ढिलाइ भएको हो।

उनले करिब पाँच लाख भायल एआरभी खोप खरिदका लागि टेन्डर प्रक्रिया अन्तिम चरणमा पुगेको भए पनि आपूर्ति अझै सुरु हुन नसकेको जानकारी दिए। आकस्मिक व्यवस्थापनका लागि सरकारले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) सँग समन्वय गरेर सीमित परिमाणमा खोप उपलब्ध गराइरहेको उनको भनाइ छ।

अधिकारीका अनुसार आइतबार मात्रै चार हजार पाँच सय भायल एआरभी खोप नेपाल भित्रिएको छ। उक्त परिमाणको खोप देशमै सबैभन्दा बढी बिरामी आउने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल मा करिब एक महिनाका लागि मात्र पुग्ने अवस्था छ।

उनले असार १६ गतेभित्र सम्झौता प्रक्रिया टुंगिएपछि थप खोप आपूर्ति सुरु हुने बताए। साथै रेबिजविरुद्ध प्रयोग हुने इम्युनोग्लोबुलिनका १७ हजारभन्दा बढी डोज पनि खरिद प्रक्रियामा रहेको जानकारी दिए।

डा. अधिकारीले आगामी आर्थिक वर्षमा रेबिजविरुद्धको खोप अभाव हुन नदिने गरी सरकारले आपूर्ति प्रणाली सुदृढ बनाइरहेको दाबी गरे।

सर्पदंशको औषधि अभावको गुनासो, सरकार भन्छ– मौज्दात पर्याप्त

वर्षायाम सुरु भएसँगै देशभर सर्पदंशका घटना बढ्न थालेका बेला सर्पदंशको उपचारमा प्रयोग हुने ‘एन्टिस्नेक भेनम’ अभाव भएको गुनासो पनि बढेको छ। तर सरकारले भने उक्त औषधिको अभाव नरहेको दाबी गरेको छ।

डा. अधिकारीले सर्पदंश उपचारका लागि आवश्यक एन्टिस्नेक भेनमको उपलब्धतामा ठूलो समस्या नरहेको बताए। उनका अनुसार विश्वबजारमा मूल्यवृद्धिका कारण केही ढिलाइ भए पनि खरिद प्रक्रिया टुंगिएको छ र आपूर्तिकर्तालाई औषधि पठाउन भनिसकिएको छ।

उनले १३ हजार दुई सय भायल एन्टिस्नेक भेनम आपूर्तिको प्रक्रियामा रहेको जानकारी दिँदै विभिन्न सर्पदंश उपचार केन्द्रमा औषधि उपलब्ध रहेको दाबी गरे।

रेबिज र सर्पदंशविरुद्धका खोप तथा औषधि खरिदमा बारम्बार समस्या देखिएपछि सरकारले सार्वजनिक खरिद प्रक्रियालाई थप सहज बनाउन कानुनी व्यवस्था परिमार्जन गर्ने तयारी गरेको छ।

डा. अधिकारीका अनुसार तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको कार्यकालमा भएका सिफारिस र सम्झौताका आधारमा सार्वजनिक खरिदसम्बन्धी कानुन तथा प्रक्रियामा सुधारको काम सुरु भएको छ। यसबाट अत्यावश्यक औषधि र खोप आवश्यकता पर्दा छिटो खरिद गर्न सकिने वातावरण बन्ने उनको विश्वास छ।

मनसुनका बेला विशेषगरी तराई–मधेसका जिल्लामा सर्पदंशका घटना उच्च हुने गरेका छन्। वर्षेनी सयौँ नागरिकले सर्पदंशका कारण ज्यान गुमाउने गरेको तथ्याङ्क रहेको छ। यही अवस्थालाई ध्यानमा राख्दै सरकारले आगामी आर्थिक वर्षमा रेबिज र सर्पदंशविरुद्धका खोप तथा औषधिको अभाव हुन नदिने गरी आपूर्ति व्यवस्थापनलाई प्राथमिकतामा राखेको जनाएको छ।

– न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !