२ कार्तिक २०८३, आइतबार

हनुमानढोकास्थित दसैँघरमा फूलपाती भित्र्याइयो

प्रकाशित मिति :  17 October, 2026 5:50 pm


काठमाडौं । हनुमानढोकास्थित दसैँघरमा फूलपाती भित्र्याइएको छ ।

बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा कमलाक्षी, असन, जनबहाल, इन्द्रचोक र मखन हुँदै जमलेश्वर महादेवमा समेत पूजाआजा गरी फूलपाती हनुमानढोकास्थित दसैँघरमा भित्र्याइएको हो ।

गोरखा दरबारबाट पठाइएको फूलपाती निर्धारित साइतअनुसार गोरखा र हनुमानढोकाका दरबारमा पूजाआजासहित भित्र्याउने परम्परा छ । गोरखा दरबारका पुरोहितले हनुमानढोकाका पुजारीलाई फूलपातीको डोली हस्तान्तरण गरेपछि हर्षबढाइँसहित दसैँघरमा फूलपाती भित्र्याइएको हो ।

फूलपातीका अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँसमेत आयोजना गरेको छ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्षलगायतको उपस्थितिमा बढाइँ कार्यक्रम गरिएको हो ।

कार्यक्रममा नेपाली सेनाले राइफल र तोपबाट बढाइँ गर्नुका साथै मार्चपास प्रस्तुत गरेको थियो । सेनाको बढाइँ टोलीले इज्जत अर्पण कवाज, विभिन्न गुल्मद्वारा बढाइँ, मार्चपाससहितको बढाइँ तथा षट्कोण चिह्नबाट बढाइँ प्रस्तुत गरेको थियो ।

– न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !