२२ बैशाख २०८१, शनिबार

भ्रष्टाचार काण्डमा एक जर्नेल र एक कर्णेलसहित तीन जना सेवाबाट बर्खास्त, ३ जनाको घटुवा

प्रकाशित मिति :  16 August, 2020 7:45 pm


काठमाडौं, ३२ साउन ।

नेपाली सेनाले ब्रिगेडियर जनरल(सहायक रथी) र कर्णेल (महासेनानी)सहित ३ जनालाई भ्रष्टाचार गरेको भन्दै सेवाबाट बर्खास्त गरेको छ । त्यस्तै एक जना क्याप्टेन(सह-सेनानी)सहित ३ जनाको एक तह घटुवा भएको छ ।

आज बसेको सेनाको समरी जनरल सैनिक अदालतले पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा कार्यरत भ्रष्टाचार गरेको ठहर गर्दै ब्रिगेडियर जनरल प्रयोग जबरा, कर्णेल नविन सिलवाल र प्रमुख सुवेदार मिठुराम विश्वकर्मालाई सैनिक सेवाबाट हटाउने निर्णय गरेको नेपाली सेनाले जनाएको छ ।

सैनिक अदालतले क्याप्टेन लक्ष्मीकान्त खनाल, सुवेदार भोज बहादुर विष्ट र जमदार विनोद बस्नेतलाई एक तह दर्जा घटुवा तथा प्राविधिक क्याप्टेन फिरोज महर्जन र जमदार भद्र बहादुर शाहीलाई नसिहत दिने निर्णय गरेको छ ।

कर्णेल (महासेनानी) राजेन्द्र मणी गिरी र लेखा सुवेदार कर्मचारी नवराज पाण्डे(अवकाश)ले सफाई पाएका छन् ।

नेपाली सेनाद्धारा जारी विज्ञप्तिमा भनिएको छ, “आर्थिक अनियमितता र भ्रष्टाचारको विषयमा शून्य सहनशीलता नीति अनुरुप स्वच्छ संगठन निर्माण एर्व सुदृढिकरणको कार्यमा नेपाली सेना प्रतिवद्ध रहेको व्यहोरा समेत जानकारी गराईन्छ ।”

प्रधानसेनापतिमा पूर्णचन्द्र थापा नियुक्त भएपछि सेनाभित्र भ्रष्टाचारमा संलग्न र अनुशासन विपरित काम गर्ने उच्च अधिकृत समेत धमाधम कारबाहीमा परिरहेका छन् । उसअघि असार १७ गते मात्रै सहायक रथी सुरेन्द्रसिंह रावल र महासेनानी अनिल खड्कालाई अनुशासन विपरित काम गरेको भन्दै बर्खास्त गरिएको थियो ।

उनीहरुलाई दुबै जनाले माथिल्लो कमाण्डरले लिखित रुपमा दिएको आदेश जानी जानी पालना नगरी अवज्ञा सम्बन्धी कसूर गरेको, सैनिक सुव्यवस्था तथा अनुशासन विपरितको काम गरेको र आफ्नो ओहदा अनुसारको जिम्मेवारी र आचरण नगरेको ठहर गर्दै सैनिक अदालतले दुबै जनालाई सेवाबाट बर्खास्त गर्ने निर्णय गरेको सेनाले जानकारी गराएको थियो ।



प्रतिक्रिया दिनुहोस !