७ बैशाख २०८१, शुक्रबार

बडादसैँ आजदेखि शुरु,नवरात्रमा शक्तिपीठमा नित्य पूजामात्र

प्रकाशित मिति :  17 October, 2020 8:57 am


काठमाडौं, १ कात्तिक ।

नेपालीको महान् पर्व बडादसैँ आजदेखि शुरु भएको छ । आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गर्ने प्रचलन छ ।

पूजा कोठा वा दसैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजारम्भ हुन्छ । नवरात्रको पहिलो दिन आज बिहानै नित्य कर्म समाप्त गरी नजीकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्पक राखेर त्यसमाथि यव(जौ) रोपिन्छ ।

यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ । जमरा राख्ने कार्यमा जौबाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।

कुल परम्पराअनुसार कसैले अन्य अन्न पनि जौसितै रोप्ने गरेका छन् । जमरालाई आयुर्वेदिक औषधिका रुपमा समेत प्रयोग गरिन्छ । विधिपूर्वक घट अर्थात् घडा राखी त्यसमाथि शक्तिस्वरुपा दुर्गाको पूजाआराधना गरिने आजको दिन स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिनमा देवीको प्रसाद ग्रहण गरिन्छ ।

घटस्थापनाको साइत आज बिहान ११स्४६ बजे रहेको समितिले जनाएको छ । आज दिनभर चित्रा नक्षत्र परेकाले शास्त्रीय वचनानुसार मध्याह्नकालमा अभिजित् मुहूर्तको साइत घटस्थापनाका लागि दिइएको अध्यक्ष गौतमले बताए।

सूर्योदयकालमा प्रतिपदा भएका दिनमा घटस्थापना गर्नुपर्छ भन्ने शास्त्रीय मान्यताअनुसार नै समितिले आजको दिनलाई घटस्थापना भनी निर्णय गरेको पनि उनले जानकारी दिए । दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजाआराधना गरिन्छ । महाकाली शक्ति, महालक्ष्मी धनधान्य र ऐश्वर्य तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकका रुपमा पूजाआराधना गर्ने वैदिककालदेखिको परम्परा हो ।

नवरात्रमा शक्तिपीठमा नित्य पूजामात्र

नेपालीको महान् चाड बडादसैँकाअवसरमा यस वर्ष देशभरका शक्तिपीठमा नित्य पूजा गरी भक्तजनको दर्शनका लागि खुला नगरिने भएको छ । काठमाडौँ उपत्यका लगायत धेरै जिल्लामा कोरोना भाइरसको सङ्क्रमण फैलिरहेकाले शक्तिपीठमा पुजारीले नित्य पूजा एवं आरती गरी भक्तजनलाई प्रवेश गर्न नदिइने भएको हो ।

पशुपति क्षेत्रमा रहेको गुह्येश्वरी, जयवागेश्वरी लगायत शक्तिपीठ दर्शनार्थीका लागि नखोलिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । उपत्यकामा कोरोना भाइरसका सङ्क्रमित बढिरहेकाले पुजारीबाट हुने नित्य पूजा आराधना गरी मन्दिर सर्वसाधारणका लागि नखोलिने कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले राससलाई जानकारी दिए ।

 

उपत्यकामा मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, रक्तकाली, श्वेतकाली, दक्षिणकाली, इन्द्रायणी, सुन्दरीमाई, बज्रयोगिनी लगायत प्रसिद्ध शक्तिपीठ छन् । जहाँ आश्विन शुक्ल प्रतिपदादेखि विजयादशमीका दिनसम्म भक्तजनको धेरै भीड लाग्ने गर्छ ।

यी शक्तिपीठमा शारदीय नवरात्रमा विशेष पूजा हुने गरेको छ । कोरोना भाइरसका कारण गत चैतदेखि देशका मुख्य मन्दिर सर्वसाधारणका लागि बन्द गरिएको छ ।

गृह मन्त्रालयले पनि ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरी देशभरका शक्तिपीठ भक्तजनका लागि नखोल्न आह्वान गरेको छ । आम मानिसलाई कोरोना भाइरसको सङ्क्रमणबाट बचाउन मन्त्रालयले यस्तो आह्वान गरेको हो ।

नवरात्रको पहिलो दिन आज दशैँ घर एवं पूजा कोठामा घटस्थापना सहित जमरा राखेर नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको पूजा आराधना गरिन्छ । नवरात्रका नौ दिनसम्म नौ वटी देवीको विशेष आराधना गरिन्छ ।



प्रतिक्रिया दिनुहोस !