७ कार्तिक २०८१, बुधबार

मन्त्रिपरिषद् विस्तारविरुद्धको रिटमा सुनुवाइ हुँदै

प्रकाशित मिति :  31 December, 2020 12:58 pm


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि गरेको मन्त्रिपरिषद् विस्तारविरुद्ध दायर रिटहरु न्यायाधीश कुमार रेग्मीको इजलासमा पेशी तोकिएको छ ।

बुधबार हेर्न नभ्याइने सूचीमा राखिएको मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको रिटमा फेरी आज सुनुवाइ हुँदैछ ।  हिजो न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा परेको सो पेसी आज बिहीबारका लागि तोकिएको थियो ।

संसद् विघटनपछि मन्त्रिपरिषद् विस्तार गर्न नपाइने भन्दै अधिवक्ताहरू दिनेश त्रिपाठी, लोकेन्द्र ओली, केशरजंग केसी र दिनेश लामिछानेले गत १३ पुसमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रपति कार्यालयलाई विपक्षी बनाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि गत शुक्रबार मन्त्रिपरिषद विस्तार गर्दै ९ मन्त्री थपेका थिए । लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई सपथ गराउँदै नियुक्त गरेकी थिइन् ।

प्रतिनिधिसभा विघटनपछि अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा सदस्यसमेत नभएको र सरकार कामचलाउ भइसकेको अवस्थामा संविधानको मर्मविपरीत मन्त्रिपरिषद् विस्तार गरेकाले त्यसलाई बदर गर्न रिटमा माग गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !