४ बैशाख २०८१, मंगलबार

जापानमा ७.३ म्याग्नीच्युडको शक्तिशाली भूकम्प

प्रकाशित मिति :  14 February, 2021 4:24 pm


काठमाडौं । जापानमा शनिबार ७.३ म्याग्नीच्युडको भूकम्प गएको छ । स्थानीय समयानुसार शनिबार राति ११ बजेर ८ मिनेटमा फुकुसिमा प्रिफेक्चरलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

स्थानीय अधिकारीकाअनुसार मियागी र फुकुशिमा यस भूकम्पको कारण कम्तीमा ३० जना घाइते भएका छन् । शुरुमा यो भूकम्प ७.१ म्याग्नीच्युडको मापन गरिएको थियो भने पछि यो भूकम्प ७.३ को भएको जापान मौसम विभागले जनाएको छ । सुनामीको सम्भावना नभए पनि तटीय क्षेत्रमा रहेकाहरुलाई उच्च स्थानमा जानका लागि पूर्वजानकारी दिइएको छ ।

केन्द्रविन्दु रहेको फुकुसिमा तथा मियागी प्रान्त, कान्तोलगायत क्षेत्रहरुमा समेत ठूलो धक्का महसुस भएको सञ्चार माध्यमहरुले जनाएका छन् । शनिबार गएको सो भूकम्प सन् २०११ को ९.० म्याग्नीच्युडको भूकम्पको नै परकम्प भएको टोकियोको भूकम्प अनुसन्धान संस्थानका प्राध्यापक केन्जी सातकेले बताएमा छन् । सन् २०११ को भूकम्प को अति शक्तिशाली भएकोले १० वर्षपछि यसको परकम्प देखिनु अचम्म कुरा नभएको सातकेले बताएका छन् ।

सन् २०११ मा गएको ९.० म्याग्नीच्युडको भूकम्पपछिको सुनामीको कारण करिब १९ हजार व्यक्ति मारिनुको साथै वेपक्ता भएका थिए । त्यसैबीच जापानको नामिएमा आइतबार पुनः ५।१ म्याग्नीच्युड भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण सस्था(युएसजिएस)ले जनाएको छ । –रासस /सिन्हवा



प्रतिक्रिया दिनुहोस !