२५ बैशाख २०८१, मंगलबार

क्युवामा चार दशकपछि प्रधानमन्त्री नियुक्त

प्रकाशित मिति :  22 December, 2019 4:40 pm


एजेन्सी, ६ पुस

क्युवाका राष्ट्रपति मिगुएल दाएज केनलले दैनिक प्रशासनका काम हेर्नेगरी सिमित अधिकारसहित चार दशकपछि प्रधानमन्त्री नियुक्त गर्नुभएको छ । राष्ट्रपति केनलले लामो समयसम्म पर्यटनमन्त्रीको जिम्मेवारी सम्हालेका मारेरो क्रुजलाई शनिबार पाँच वर्षका लागि प्रधानमन्त्री नियुक्त गर्नुभएको क्युवाको समाचार संस्था एसीएनले जनाएको छ । क्युवामा फिडेल क्यास्ट्रोपछि मारेरो प्रधानमन्त्री बन्नुभएको हो । क्यास्ट्रोले सन् १९७६ डिसेम्बरमा राज्यपरिषद्को प्रमुख भएपछि क्युवामा प्रधानमन्त्रीय प्रणालीलाई अन्त्य गर्दै आफू राष्ट्रपति बन्नुभएको थियो । एसीएनले भनेको छ, “क्रुजको नियुक्तिलाई क्युवाको नेशनल एसेम्लीको शनिबार बसेको बार्षिक अधिवेशनको अन्तिम बैठकमा सभाका ५९४ सदस्यहरूले एकमतले अनुमोदन गरेका छन् ।

क्युवाको कानून अनुसार कुनै पनि नयाँ नियुक्तिलाई सदर गर्न सभाको पूर्ण बहुमत आवश्यक पर्ने व्यवस्था रहेको छ । यसैगरी शनिबारको बैठकले नै उपप्रधानमन्त्री तथा मन्त्रीपरिषद्का अन्य सदस्यलाई पनि जिम्मेवारी दिएको छ । क्युवामा केनल राष्ट्रप्रमुख रहनुहुन्छ भने भूतपूर्व राष्ट्रपति तथा शक्तिशाली नेता राहुल क्यास्ट्रो कम्युनिष्ट पार्टीको प्रथम मन्त्री हुनुहुन्छ । उहाँहरूबीच नै सरकार सञ्चालनको वास्तविक शक्ति निहित रहने गर्छ । क्युवाले तत्कालिन राष्ट्रपति फिडेल क्यास्ट्रोको पालामा प्रधानमन्त्रीलाई हटाएर मन्त्रीपरिषद् राष्ट्रपतिप्रति नै जिम्मेवार रहने कानूनलाई संशोधन गर्दै सन् २०१९ को फेब्रुवरीमा भएको राष्ट्रव्यापी मतदानद्वारा नयाँ संविधान निर्माण गरिएको थियो । यसै अनुरूप प्रधानमन्त्रीको नियुक्ति भएको हो । नयाँ सविधानमा पनि क्युवामा एक दलीय राजनीतिक व्यवस्थाको कल्पना गरिएको छ । यहाँको एक मात्र दलका रूपमा कम्युनिष्ट पार्टी रहेको छ र यसैको निर्देशनमा सरकारको नीति निर्माणको मार्गदर्शन हुने गर्छ ।



प्रतिक्रिया दिनुहोस !