२० बैशाख २०८१, बिहिबार

तनावका बिच जलवायु परिवर्तनमा सहयोग गर्न चीन अमेरिका सहमत

प्रकाशित मिति :  18 April, 2021 12:43 pm


काठमाडौ । तनावका बिच जलवायु परिवर्तनसम्बन्धी संकटसँग लड्न चीन र अमेरिका मिलेर अघि बढ्न सहमत भएका छन् ।

आइतबार दुवै देशको तर्फबाट सार्वजनिक गरिएको संयुक्त विज्ञप्तिमा चीन र अमेरिकाले पेरिस सम्झौताका अन्य बहुपक्षीय मोर्चामा जलवायु परिवर्तनसम्बन्धी विषयमा मिलेर काम गर्ने प्रतिबद्धता जनाएको उल्लेख छ ।

जलवायु परिवर्तनसम्बन्धी अमेरिकी विशेषदूत जोन केरीले चीनको भ्रमण गरी त्यहाँका समकक्षीसँग संघाईमा पटक पटक गरेको छलफल पछि यो संयुक्त विज्ञप्ति निकाल्ने सहमति गरेका हुन् ।

विज्ञप्तिमा उल्लेख भए अनुसार चीन र अमेरिकाले अन्य देशहरूले जलवायु परिवर्तनका लागि गरिरहेको कार्यक्रममा आवश्यक वित्तीय सहयोग गर्न दुवै तयार भएका ह्न ।संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तन तथा पेरिस महासन्धिसम्बन्धी खाका अनुसार बहुपक्षीय मोर्चामा दुवै सहयोग गर्न तयार भएका हुन् ।

विशेषरूपले यो सहमतिले पेरिस सम्झौताको कार्यान्वयनमा जोड दिएको छ । विश्वको औसत तापक्रम २ डिग्री सेल्सियस भन्दा तल डेढ डिग्री सेल्सियसमा सिमित गर्ने उद्देश्य पूरा गर्न यो प्रतिबद्धता गरिएको हो ।

दुवै देशले संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तनसम्बन्धी छबिसौं सम्मेलनका पक्षहरूको समूह कोप२६मा थप छलफल गर्ने गर्ने जनाएका छन् । कोप २६को आयोजना बेलायतको ग्लासगोमा हुने भएको छ ।

अमेरिकी विशेषदूत जोन केरी र चिनियाँ विशेषदूत सिए झेनहुआबीच वार्ता सम्पन्न भएलगत्तै यो संयुक्त विज्ञप्ति सार्वजनिक भएको हो ।

अमेरिकी विशेषदूत केरीले गत बुधबारदेखि शनिबारसम्म संघाईको भ्रमणका बेला चिनियाँ समकक्षीसँग पटक पटक वार्ता गरेका थिए ।
अमेरिकी राष्ट्रपति जो बाइडनले जलवायु परिवर्तनसम्बन्धी विषयमा आयोजना गर्न लागेको भर्चुअल शिखर सम्मेलनको झण्डै एक साता अघि यो सहमति बनेका   हो ।



प्रतिक्रिया दिनुहोस !