२४ बैशाख २०८१, सोमबार

सुलेमानीको शवयात्रामा भागदौडका क्रममा, कम्तिमा ३५ जनाको मृत्यु

प्रकाशित मिति :  7 January, 2020 5:44 pm


काठमाडौं, २२ पुस ।
इरानको कुर्दुस फोर्सका प्रमुख जनरल कासिम सुलेमानीको अन्त्येष्टि समारोहमा भागदौड मच्चिँदा कम्तिमा ३५ जनाको मृत्यु भएको इरानको राज्य सञ्चालित टेलिभिजनले जनाएको छ । अमेरिकी हवाई आक्रमणमा मारिएका सुलेमानीको अन्त्येष्टि समारोहमा भागदौड हुँदा उनीहरुको मृत्यु भएको हो ।

आज उनको गृहनगर केरमानमा शवयात्रा आयोजना गरिएको थियो। भागदौडमा अन्य ४८ जना घाइते भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।  केरमानमा हजारौं मानिसहरू सुलेमानीको शव यात्रामा सहभागी भएका थिए।

घटनाका भिडियो फुटेजहरूमा मानिसहरू सडकमा पल्टिरहेको, अरुहरू चिच्याइरहेको र सहायताका लागि प्रयास गरिरहेको देखिएको छ ।

इरानको आपतकालीन मेडिकल सेवाका प्रमुख पिरहुसेन कोइलीभान्दले भागदौड मच्चिएको पुष्टि गरेका छन् । “दुर्भाग्यवश भागदौडका कारण हाम्रा देशवासीहरु घाइते भएका छन् र केहीको मृत्यु भएको छ”, उनले भने ।

यसअघि हिजो सुलेमानीको शवयात्रा तेहरानमा भएको थियो। उक्त शवयात्रामा मूल सडक र पेटीहरूसमेत शोकाकुल मानिसको भीडले भरिएको थियो। तेहरान विश्वविद्यालयमा भएको शोक सभामा इरानका सर्वोच्च नेता आयोतल्लाह खोमनी रोएको देखिएको थियो ।

इरानको दक्षिणपश्चिममा रहेको अहभाजबाट शुरू भएको शवयात्रा उत्तरपश्चिमको मस्साद, राजधानी तेहरान, पवित्र भूमि कुम हुँदै आज केरमान पुगेको थियो । एजेन्सी

 



प्रतिक्रिया दिनुहोस !