अमेरिकाले उपलब्ध गराएको कोरोना विरुद्धको खोप काठमाडौं आइपुग्यो

काठमाडौं । अमेरिकाले उपलब्ध गराएको कोरोना विरुद्धको खोप काठमाडौं आइपुगेको छ । एक डोज मात्रै लगाएपनि हुने जोनसन एण्ड जोनसनको १५ लाख डोज खोप काठमाडौं आइपुगेको हो।
कतार एयरवेजको नियमित उडानमार्फत आएको खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी राजदूत र्याण्डी बेरीले स्वास्थ्य तथा जनसंख्यामन्त्री कृष्णगोपाल श्रेष्ठलाई हस्तान्तरण गरे । यो अमेरिकी सरकारले उपहार स्वारुप दिएको खोप हो ।
मन्त्री श्रेष्ठले अमेरिकाबाट प्राप्त खोप प्राथमिकताका आधारमा ५० देखि ५४ वर्षको उमेर समूहका नागरिकलाई लगाउने र छिट्टै खोप अभियान चलाउने बताए । अमेरिकाले कोभ्याक्स कार्यक्रममार्फत उपलब्ध गराउने भनेको १५ लाख डोज खोप उपलब्ध गराएको हो ।
हस्तान्तरण कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले नेपाललाई १५ लाख ३४ हजार ८५० मात्रा खोप उपहारस्वरुप प्रदान गरिएको जानकारी दिए । सोही खोप अमेरिकी राजदूत बेरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाईपनि हस्तान्तरण गरेका छन् ।
बालुवाटारमा भएको एक कार्यक्रमकाबीच राजदूत बेरीले प्रधानमन्त्री ओलीलाई खोप हस्तान्तरण गरेका हुन् ।