४ वटा प्रदेशमा भारी वर्षाको सम्भावना,सतर्कता अपनाउन आग्रह

काठमाडौं । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको महाशाखाले अनुमान गरेको छ । रातीपनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रदेश १, प्रदेश नं २,बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।
२४ घण्टाभित्र अपनाउनुपर्ने सतर्कताबारे सचेत गराउँदै महाशाखाले भनेको छ,“ पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।”