ओली सरकारले सार्वजनिक सवारी साधनको भाडा २८ प्रतिशत बढाएर गयो
प्रकाशित मिति : 14 July, 2021 6:13 pm

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारले जाँदाजादै सार्वजनिक सवारी साधनको भाडा २८ प्रतिशत बढाएर गएको छ ।
ओली सरकार बढाएको भाडा दरलाई यातायात व्यवस्था विभागले बुधबार सार्वजनिक गरेको हो ।
विभागले यात्रुवाहक सवारी साधनको २८ प्रतिशत, पहाडी बाटोमा संचालन हुने मालवाहक सवारीसाधनको २० प्रतिशत र तराईमा संचालन हुने मालवाहक सवारी साधनको २६ प्रतिशत भाडा बढाएको खुलाएको छ ।
असार २७ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको सहमति प्राप्त भएको जनाउँदै विभागले असार २९ गतेदेखि समायोजन हुने गरी भाडादर बढाएको जनाएको छ ।
विभागले लामो समयदेखि भाडा वृद्धि नभएको सार्वजनिक विज्ञप्तिमा उल्लेख गरेको छ ।
असार २९ नयाँ प्रधानमन्त्रीमा शेरबहादुर देउवा शपथ लिएकै दिनदेखि लागु हुने गरी विभागले भाडा वृद्धि गरेको हो ।