जनमत संग्रह र संयुक्त प्रगतिशील सरकारको प्रस्ताव गरेको विप्लव नेतृत्वको नेकपा राजनीतिक भेटघाटमा सक्रिय

काठमाडौं । सरकार परिवर्तनसँगै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी राजनीतिक भेटघाटमा सक्रिय बनेको छ ।
गत फागुन २१ गते झण्डै २ वर्षको प्रतिबन्धपछि खुला राजनीतिमा आएका नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले शिर्ष तहको राजनीतिक भेटघाटलाई सक्रिय बनाएका हुन् ।
खुल्ला राजनीतिमा आएपछि पनि महासचिव विप्लवले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीबाहेक अन्य शिर्ष नेतासँग छलफल गरेका थिएनन् ।
नेकपा माओवादी केन्द्रका नेतामा पनि कृष्णबहादुर महराबाहेक अन्यलाई भेटेका थिएनन् । तर कोरोनाको दोस्रो लहर कम हुँदै गएपछि काठमाडौं आएलगत्तै महासचिव विप्लव भेटघाटमा सक्रिय भएका हुन् ।
हिजो माओवादी केन्द्रका अध्यक्ष पुष्कलमल दाहाल ‘प्रचण्ड’लाई उनको निवास खुमलटारमै गएर भेट गरेका थिए । भेटबारे नेकपाले आधिकारिक धारणा त सार्वजनिक भएको छै्रन । तर प्रचण्डको भेटबारे भेटमा सहभागि नेकपा केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले समाजिक सञ्जाल फेसबुकमा भनेका छन्,“नेकपा माओवादी केन्द्रका अध्यक्ष कमरेड प्रचण्डसँग समसामयिक राजनीतिक विषयहरु, सरकारसँग भएका ३ बुँदे सहमति कार्यान्वयनबारे छलफल ।”
प्रचण्डसँगको छलफलसँगै विपक्षी गठवन्धनमा सहभागि नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न आजै विप्लव नेपाल निवास कोटेश्वरमा पुगे । नेपाल निवासमै नेता नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र विप्लवबीच त्रिपक्षीय छलफल भएको छलफल भएको छ ।
नेपाल कम्युनिष्ट पार्टीलाई हिंसात्मक गतिविधि गरेको भन्दै २०७५ फागुन २८ गते तत्कालिन सरकारले प्रतिबन्ध लगाएको थियो । झण्डै २ वर्षको प्रतिबन्धपछि सरकारसँग ३ बुँदे सहमति गरेपछि २०७७ फागुन २१ गते विप्लव काठमाडौंमा सार्वजनिक भएका थिए ।
३ बुँदे सहमतिमा नेता कार्यकर्ता रिहा गर्ने सहमति थियो । तर अहिलेसम्म केन्द्रीय सचिवालय सदस्य हेमन्त प्रकाश ओली, भरत बाम लगायतका नेता कार्यकर्ता छुटेका छैनन् । विप्लव नेतृत्व नेकपाले वैज्ञानिक समाजवादीका लागि जनमत संग्रह र प्रगतिशील संयुक्त सरकारको प्रस्ताव गरेको छ ।