१२ श्रावण २०८१, शनिबार

कांग्रेस छोडेको २२ वर्षपछि कांग्रेसलाई नै साथ ! एकाएक ओलीसँग किन बिच्किए प्रेम आले ?

प्रकाशित मिति :  19 July, 2021 12:48 pm


काठमाडौं । प्रतिनिधि सभा बैठकमा आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने प्रक्रिया चलिरहेको थियो ।

माधव नेपाल पक्षका १० जना सांसद ‘पार्टी एकताको वातावरण कायमै राख्न’ भन्दै संसद भवनबाट बाहिरिए । जनता समाजवादी पार्टीका महन्थ ठाकुर पक्षले पनि मत दिने भएपछि पुग्ने त थियो तर वातावरण सहज भने थिएन ।

त्यसैले पनि होला सभामुख अग्निप्रसाद सापकोटाले समय विभाजनको समय दिएपछि नेताहरू अलि चलायमान देखिन्थे । महन्थ ठाकुरले रोष्ट्रमबाट विश्वासको मत दिने भनेपनि कांग्रेस माओवादी केन्द्रका नेताहरू ढुक्क हुन सकेका थिएनन् । माओवादी केन्द्रकी सांसद जयपुरी घर्तीले भनिन्,“हामीलाई त कतिपय अवस्थामा अनौठो लाग्यो, महन्थ ठाकुर पक्षका सबै विश्वासको मत हाल्न गएको देखियो त्यतिमात्रै होइन केपी ओली पक्षका मान्छे नै विश्वासको मत हाल्न गएको देखेपछि त धेरै पो हुने भयो भनेर छलफल समेत गर्‍यौं ।”

सबैभन्दा आश्चर्य त ओलीका सांसदले ‘फ्लोर क्रस’ गरेपछि भयो । सुदूरपश्चिममा नेपाल पक्षका नेता भिम रावललाई ‘काउन्टर गर्न’ मन्त्री बनाईएका प्रेम आले र निकै निकट मानिएका किसान श्रेष्ठले समेत ‘फ्लोर क्रस’ गरे । प्रेम आलेसहित ९ जनाले ‘फ्लोर क्रस’ गरेपछि ओलीले समेत एकछिन टोलाएका थिए भने एमालेका सांसदले मोबाइलमा फोटो खिच्दै थिए ।

कांग्रेस छोडेको २२ वर्षपछि कांग्रेसको सरकारलाई साथ !

प्रेम आलेले २०५६ सालमा कांग्रेस छोडेर एमाले प्रवेश गरेका थिए । एमालेमा सक्रिय भएपनि देउवासँग आलेको सम्बन्ध निकै राम्रो छ । उनी निकट एक नेताका अनुसार नेता आले गएका बेला देउवाले कांग्रेसका नेतालाई बाहिर पठाएरपनि छलफल गर्छन् ।

ति नेताले भने,“आले र देउवाको सम्बन्ध निकै राम्रो छ, देउवा जी कांग्रेसका नेतासँग भएका बेला आले माननीय ज्यू गएपछि अरुलाई बाहिर पठाएर उहाँसँग छलफल गर्नुहुन्छ ।”

केही दिन पहिले आलेले देउवासँग छलफल गरेको भनेपनि उनको सचिवालयले भने खण्डन गरेको थियो । तर सांसद आलेले देउवालाई विश्वासको मत हाल्छन् भन्ने विषयमा आन्तरिक जानकारीमा थियो ।

उल्टो काउन्टर !

सुदूरपश्चिमका प्रभावशाली मानिएका नेता भिम रावल माधव नेपाल पक्षमा थिए । त्यसैले ओलीले रावलको काउन्टरमा नेता खोजिरहेका थिए । ओलीले रावललाई काउन्टर दिन माओवादी केन्द्रका सुदूरपश्चिमका प्रभावशाली नेता लेखराज भट्टलाई ताने भने रावलको छायामा परेका अर्का नेता आलेलाई ताने ।

एमाले अध्यक्ष ओलीले आलेलाई रावलको काउन्टर दिने नेता भन्ने गरेका थिए । तर आले ओलीसँग यति छिटो रुष्ट भएकि त्यसका लागि ५ महिनापनि समय लागेन । आलेले ओलीलाई उल्टो कान्टर हानेका छन् ।

रुष्ट हुनुका कारण

आले वन तथा वातावरण मन्त्री बने । राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष वन तथा वातावरणमन्त्री हुने प्रावधान रहेपनि तत्कालनीन प्रधानमन्त्री केपी शर्मा ओलीले आलेलाई उक्त पद नदिएर राष्ट्रिय योजना आयोगका सदस्य कृष्ण ओलीलाई दिए । यसले आलेलाई सुरुमै झट्का लाग्यो ।

यो निर्णय आफैमा नियम विपरित थियो । यो निर्णयबाटै प्रेम आले ‘स्तब्ध’ भएका थिए । उनले तत्कालै राजीनामा दिने तयारी गरेपनि अन्तिममा रोकिए । यो निर्णयले आलेले आफू निकटका मान्छेलाई भन्न थलेका थिए,“ मन्त्री मलाई अनि कामजती सबै बालुवाटारबाट ? यस्तो पनि हुन्छ ?”

आले वैज्ञानिक वन व्यवस्थापनका नाममा व्यापक वन फँडानी भएकोमा असन्तुष्ट थिए । तर धेरै पटक प्रयास गर्दापनि वैज्ञानिक वन व्यवस्थापन खारेज गर्ने प्रयास हुन सकेन । आलेले यो निर्णयका क्रममा कर्मचारीदेखि बालुवाटारसम्मले घेराबन्दी गरेको भन्दै आक्रोशित थिए । तर व्यक्तिगत जोडबलमै बल्लतल्ल वैज्ञानिक वन व्यवस्थापन खारेज भयो । खारेज त भयो फेरि अर्को निर्णय आलेको टाउकोमा आइलाग्यो ।

निर्णय थियो वैज्ञानिक वन व्यवस्थापन लागू भएको ठाउँमा काटिएका काठहरू लिमाम गर्न तथा सामुदायिक वनमा काठ कटानका लागि आदेश । तत्कालीन वनमन्त्री प्रेम आलेको दाबी छ कि,“यसबारे मन्त्री तथा मन्त्रालयमा कुनै राय, सुझाव तथा जानकारी नलिकनै प्रधानमन्त्री केपी ओलीले हस्तक्षेप गरि काठ खोल्ने आदेश दिए ।” घुस खाएर यस्तो निर्णय भएको आरोप लागेपछि आले थप हैरान भएका थिए ।

ढुङ्गा, गिट्टी बालुवा उत्खनन तथा निकासी, पैठारीका लागि वन मन्त्री तथा मन्त्रालय संङ्ग कुनै परामर्श तथा सुझाव नलिइकनै सिधै प्रधानमन्त्रीको आदेशमा अर्थ मन्त्री विष्णु पौडेलले बजेट प्रस्तुत गरेको आलेको दाबी छ । आलेले,“यस्तो गर्न मिल्छ ?” भन्दै आक्रोश पोखेका थिए ।

सिलिण्डर काण्डमा प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीसँग भनाभन

कोरोनाको दोस्रो लहर सुरु भएपछि देशभर सिलिण्डर अभाव भयो । आलेकै छोराले समेत सिलिण्डरको अभावको सामना गर्नु पर्‍यो । आफ्नै छोराले समेत सिलिण्डरको अभाव भोगेपछि आले व्यक्तिगत खर्चमा आफ्नो जिल्ला र प्रदेशका अस्पतालमा अक्सिजन सिलिण्डर पुराउन कस्सिए ।

तर सिलिण्डरमा फोटो टाँसेर बाँडेको सार्वजनिक भएपछि व्यापक आलोचना भयो । आले काठमाडौं फर्किए । बालुवाटारमा पुगे । आलेलाई प्रधानमन्त्री ओलीले भने,“ के छ खबर ? मन्त्री आफै सिलिण्डर बाँड्न हिँड्ने त्यो पनि फोटो टाँसेर ।”

आलेले प्रधानमन्त्री ओलीलाई,“ठाँडो जवाफ फर्काए के गर्ने त यो सरकारले सिलिण्डरै दिँदैन ।”

ओलीले मुस्कुराउँदै फेरि भने,“ए त्यसो भए मेरो सरकारले सिलिण्डर दिएन हैन ।”

सँगै रहेका तत्कालिन स्वास्थ्य मन्त्री ह्रदयश त्रिपाठीले भने,“ माननीय मन्त्री ज्यूलाई त मैले सिलिण्डरको व्यवस्था गरेकै हो नि ”
ओले आक्रोशित हुँदै भने,“……यस्ता ५ वटा सिलिण्डरले हुन्छ ।” ५ महिनासम्म आले थकित भइसकेका थिए । जव मन्त्री हेरफेर गर्ने बेला भयो तब पनि आलेले थाहै पाएनन् । आलेको भनाई थियो,”पूर्व सूचना बिना ५ महिनामै मन्त्री पद बाट हटाइयो । युज एण्ड थ्रो गर्न मिल्छ ?”

निस्कदै गर्दा आलेको आक्रोश थियो,“अब भन्नुस् प्रेमबहादुर आले मन्त्री कि मूर्ति । काम जति आफू खुसी गर्ने अनि दोषजति सोझो मगरलाइ दिने ?”

सायद आले कुनै मौकाको पर्खाइमा थिए ।

अदालतले स्वविवेक प्रयोग गर्न पाउने भनेपछि ओलीलाई टोहोलाउने गरेर कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत हालेका छन् त्योपनि ८ जना सांसदलाई लिएर ।



प्रतिक्रिया दिनुहोस !