२४ बैशाख २०८१, सोमबार

एक वर्षमै मोबाइल आयात दोब्बर, झन्डै ३७ अर्बको मोबाइल आयात

प्रकाशित मिति :  25 July, 2021 1:47 pm


Mobile Import_TMG

काठमाडौं । कोभिड- १९ महामारीका कारण अनलाइनमा आधारित शिक्षाका लागि बाध्यकारीजस्तै भएपछि विगत एक वर्षमा मुलुकभित्र मोबाइल फोनको आयात दोब्बर भएको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा नेपालमा ३६ अर्ब ९० करोड रुपैयाँ मूल्यबराबरको ७० लाख ३० हजार ३६६ थान मोबाइल फोन आयात भएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा १८ अर्ब ७७ करोड रुपैयाँ मूल्यबराबरको ४३ लाख ६५ हजार ९९० वटा मोबाइल आयात भएको भन्सार विभागको तथ्यांकबाट देखिन्छ । विगत एक वर्षमा टेलिकम कम्पनीका ग्राहक संख्या केबल १८ लाखले मात्र बढेको अवस्थामा मोबाइल सेटको आयात अस्वाभाविक रुपमा बढेको देखिएको छ ।

विभागको तथ्यांकअनुसार पछिल्लो पाँच वर्षमा मात्रै १ खर्ब २१ अर्ब ८९ करोड रूपैयाँ मूल्यबराबरको २ करोड ७८ लाख ५० हजार वटा मोबाइल सेट आयात भइसकेको देखिन्छ । यो चोरी पैठारीबाट भएको आयातबाहेकको तथ्यांक हो ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार  २०७७ वैशाखसम्म नेपालका तीन वटै मोबाइल फोन सेवा प्रदायकको ३ करोड ८४ लाख ग्राहक छन् । यो जनसंख्याभन्दा पनि बढी हो । केन्द्रीय तथ्यांक विभागका अनुसार वैशाखमा नेपालको प्रक्षेपित जनसंख्या ३ करोड २ लाख थियो । एकै ग्राहकले दुई वा त्यसभन्दा बढी कम्पनीका सिमकार्ड किनेकाले समग्र मोबाइल फोन प्रयोगकर्ता बढी देखिएको हो ।

प्राधिकरणको तथ्यांकलाई मोबाइल फोनमा इन्टरनेट चलाउने (थ्रीजी र फोरजीबाट) सं‍ख्याका आधारमा हेर्दा २ करोड ७८ लाख ग्राहक संख्या देखिन्छ, यो पाँच वर्षको मोबाइल फोनसेट बराबरकै संख्या हो । यसमा चोरी पैठारीबाट भएको आयात र व्यक्तिगत रुपमा विदेशबाट पठाइएका उपहारमा प्राप्त सेटका संख्या जोड्ने हो भने नेपालमा मोबाइल आयातको संख्या अझ ठूलो देखिन्छ ।

टेलिकमका १० लाख  ग्राहक बढ्दा, एनसेलका करिब ६ लाखमात्र बढे

विगत एक वर्षको अवधिमा नेपाल टेलिकमका १० लाख २७ हजार ग्राहक संख्या बढ्दा एनसेलका ग्राहक ५ लाख ८० हजारले मात्र बढेको दूरसञ्चार प्राधिकरणको तथ्यांकले देखाउँछ  । यसबीचमा स्मार्ट टेलिकमका ग्राहक २ लाख  ९० हजार जना थपिएका छन् ।

प्राधिकरणको तथ्यांकअनुसार २०७७ जेठमा नेपाल टेलिकमका कुल ग्राहक १ करोड ७४ लाख ४१ हजार भएकोमा २०७८ वैशाखमा यो संख्या २ करोड ७ लाख ६८ हजार पुगेको छ ।

यस्तै ०७७ जेठमा एनसेलका कुल ग्राहक १ करोड ५९ लाख १६ हजार भएकोमा २०७८ वैशाखमा यो संख्या १ करोड ६४ लाख ९६ हजार पुगेको छ भने ०७७ जेठमा स्मार्ट टेलिकमका कुल ग्राहक २१ लाख ४१ हजार भएकोमा २०७८ वैशाखमा यो संख्या २३ लाख ३० हजार पुगेको छ ।

 

 

 



प्रतिक्रिया दिनुहोस !