२० बैशाख २०८१, बिहिबार

नेप्सेमा नयाँ कीर्तिमान कायम, बैंकिङ सेक्टर चम्किँदा कारोबार रकम १४ अर्ब नाघ्यो

प्रकाशित मिति :  25 July, 2021 4:35 pm


काठमाडौं । साताको पहिलो दिन आज नेप्सेमा बैंकिङ सेक्टर चम्किएका छन् । आइतबार कारोबारको सुरुवाती समय देखि नै हरियाली छाएको नेप्सेमा ५४ अंकको वृद्धिसँगै कृतिमान कायम गरेर हाल सम्मकै उच्च अंकमा पुगेको छ ।

त्यस्तै आज नेप्सेमा कारोबार रकममा पनि उछाल आएको यस केही साता देखि ५ देखि ८ अर्बको बीचमा कारोबार भएको बजारमा आज भने १४ अर्ब माथी कारोबार भइरहेको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले धमाधम वित्तीय विवरण सार्वजनिक गर्दैछन् । जसकोकारण लगानीकर्ताहरुमा पनि एकखालको उत्साह आएको बजारमा भएको कारोबारले पनि देखाउछ ।

आज नेप्से परिसूचक ५४.३१ अंकले बढेर ३०५८.६८ अंकमा पुगेको छ भने राम्रा र बलिया कम्पनीको सूचक ११.७४ अंकले बढेर ५७४.०२ अंकमा पुगेको छ ।

नेप्सेमा आज कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ११ वटा उपसमूहको सेयर बढेको छ भने बाँकी २ वटा उपसमूहको सेयर मात्र घटेको छ ।

आज कारोबारका आधारमा नेपाल बैंक लिमिटेड सर्वाधिक अग्रस्थानमा रहेको छ । त्यस्तै सर्वाधिक कारोबार हुनेमा क्रमशः ग्लाबेल आईएमई बैंक, एनसीसी बैंक, अरूण काबेली पावर, एनआईसी एशिया बैंक, युनाइटेड मोदी हाइड्रोपावर, नेशनल हाइड्रोपावर, प्रभु बैंक, कुमारी बैंक र मेगा बैंक रहेका छन् ।

त्यस्तै आज आइतबार ९ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जोशी हाइड्रोपावर, पञ्चकन्या माइ हाइड्रोपावर, युनिभर्सल पावर, विशाल बजार कम्पनी लिमिटेड, हिमालयन उर्जा कम्पनी लिमिटेड, सपोर्ट लघुवित्त, राधी विद्युत पावर, कालिका पावर र ङादी ग्रुप पावर कम्पनी लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।

त्यस्तै नेप्सेमा आज सर्वाधिक नाफा गुमाउनेमा कुमारी इक्विटी फण्ड अग्रस्थानमा रहेको छ ।

नेप्सेको तथ्यांक अनुसार कूल २२३ वटा कम्पनीकाे ४ कराेड ४१ लाख १४ हजार ७ सय ६० कित्ता सेयर खरिदबिक्री हुँदा १४ अर्ब ३० करोड २३ लाख ६५ हजार एक सय ४८ रुपैयाँको कारोबार भएकाे छ ।



प्रतिक्रिया दिनुहोस !