२८ श्रावण २०७९, शनिबार

अर्घाखाँचीमा ३५ वर्षपछि बादी समुदायले पाए घर

प्रकाशित मिति :  26 July, 2021 12:08 pm


अर्घाखाँची । झण्डै ३५ वर्षपहिले बादी समुदाय कामको शिशिलामा दाङबाट अघांखाँची पुगे । जीविकोपार्जनका लागि अर्घाखाँची पुगेका उनीहरूले थाक थलो सन्धिखर्कको किमडाडाँको खुल्ला जंगललाई बनाए ।

खुल्ला जंगलमा त्रिपालमुनी दिन काट्दै आएका कतिपयको यत्तिकै निधन भयो । तर अहिले सरकारले घर बनाईदिएपछि बल्ल उनीहरू राम्ररी ओत लाग्ने ठाउँ पाएका छन् ।

सन्धिखर्क नगरपालिका–२ को जंगलमा लामो समयदेखि बसोबास गर्दै आएका ११ घर बादी समुदाय र दुई घरपरिवार अन्य दलित समुदाय गरी १३ घरपरिवारलाई लुम्बिनी प्रदेश सरकारले घन बनाइदिएको छ ।

नयाँ बनेको घरमा सरेपछि ४५ वर्षीय राजकुमार बादीले भने,“ अहिलेसम्म जंगलको खालीचौरमा त्रिपालको छानोमुनि के हिउँद, के बर्खा सधैँ भरी गुजारा गर्दै आइयो,तर अहिले प्रदेश सरकारले हामी गरिबहरूका लागि टिनको छाना सहितको घर बनाएर ठूलो गुन लगायो ।”

जनतन दिनभरी खोलामा गिट्टी कुटेर आएको पैसाले छोरा छोरीलाई पाल्दै आए पनि बास बस्न घरमा जाँदा रातमा पानी पर्दा त्रिपालको छानोमा पानी चुहिएर बस्नै नहुने दिन सम्झिदै राजकुमारले भने,“अहिले सरकारले टिनको छानो र दुई वटा कोठा सहितको पक्कि घर बनाइदिएका े छ, ढुक्कसँग बनेका छम्, जीवनमा आशा पलाएको छ ।”

भर्खरै श्रीमान गुमाएकी एकल महिला ५५ वर्षीया चन्द्रादेवी बादीले पनि राजकुमारको झै सन्तोषको कुरा सुनाईन् । अब बास त भयो तर गाँस जुटाउन भने अझै गाह्रो  छ ।

उनले भनिन्,“धेरै कष्ट गरेर छोराछोरी हुर्काएँ,बस्नलाई बास थिएन,गाँस कसरी जुटाउने भन्ने पिरलोले सताइरहन्छ, तर, अहिले गाँस जसोतसो गरेर जुटाए पनि खाना खाँदा पानी नचुहिने घरमा बसेर खान पाउँदा एक युग नै परिवर्तन भए जस्तो मनमा खुसी लागेको छ ।”

२८ वर्षीय नारायण बादी र २३ वर्षीय सुरज बादीले अघिल्लो सरकारले बस्नलाई सुरक्षित बासको व्यवस्था गरेकोमा आफूहरू धेरै खुसी भएको बताए । “जंगलमा त्रिपालमुनि बसेर हाम्रा पुर्खा तथा बुबा आमाको जीवन गयो। तर , अहिले हामी राम्रो पानी नचुहिने सुरक्षित घरमा बस्न पाएका छौं, यही नै खुसी लागेको छ” उनीहरूले भने ।

सरकारले सुरक्षित आवास निर्माण गरिदिएपछि बस्नलाई समस्या नभएको निर्माण समितिका अध्यक्ष एवं बादी समुदायका अगुवा बधु बादीले बताए ।

उनले भने,“१३ घर परिवारमा बिस जना साना साना बालबालिका छन्,अरू तीस जना ठूला महिला पुरूष छौं तर सुरक्षित बाँस नहुँदा बालबालिकाहरू सधैँ बिरामी हुने, सुत्न नपाउँने,पहिरोले बगाउँछ कि भन्ने डर हुन्थ्यो। तर , अहिले १३ वटा घर राम्रो बनाएका छौं बस्नलाई सजिलो भएको छ ।”

मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत रू ११ लाखमा जग्गा खरिद र जनता आवास कार्यक्रमअनुसार ४३ लाख ६८ हजार रुपैयाँ खर्चेर १३ वटा घर निर्माण भएको हो । बादी समुदायको समस्या पीडा देख्दा निकै मन छोयो, त्यसपछि यो योजना प्रदेशबाट पास गराएर अहिले आवास निर्माण भएको अर्घाखाँची क्षेत्र नम्बर २ बाट निर्वाचित प्रदेश सभा सदस्य रामजीप्रसाद घिमिरेले बताए ।

उनले भने,“मुख्यमन्त्री ग्रामीण विकाश तथा रोजगार कार्यक्रम र जनता आवास दुवै कार्यक्रममार्फत प्रदेश सरकारले उनीहरूलाई आवासको व्यवस्थापन गरेको हो ।”
अहिले १३ घरपरिवारलाई सामूहिक लालपुर्जा दिएका छौं, निकट भविष्यमा छुट्टाछुट्टै उनीहरूको नाममा कित्ता काट गरी जग्गाधनीलाई लालपुर्जा दिनेछौँ।”

नवनिर्मित बस्तीमा बिजुली र खानेपानीको व्यवस्था गर्न सम्बन्धित कार्यालयहरूको ध्यानाकर्षण गराइएको छ ।



प्रतिक्रिया दिनुहोस !