७ बैशाख २०८१, शुक्रबार

मेलम्चीमा फेरि बाढी, १७ घर टहरा बगायो

प्रकाशित मिति :  1 August, 2021 11:26 am


फाइल फोटो

सिन्धुपाल्चोक । शनिबार रातिदेखि आएको बाढीले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाका १७ घर टहरा बगाएको छ ।

ती मध्ये नौ पक्की र आठ कच्ची रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए । उनका अनुसार गत असार १ गते आएको भीषण बाढीले लेदो भरिएका घर गएरातिको बाढीले बगाएको हो । ती घरटहरा खाली थिए ।

बाढीले चनौटेको रातो पुल बगाएको छ । स्थानीयवासी हस्त पण्डितले दिनुभएको जानकारी अनुसार वाढीले आज विहान पुल बगाएको हो । मेलम्ची– ७ र ८, पाँचपोखरी– १ र २ र हेलम्बुका धेरै वडा जोड्ने एकमात्र विकल्पका रुपमा यो पुल रहेको थियो ।

पुल बगाएसँगै अब यो भेगमा सवारीआवतजावत बन्द छ । त्यस्तै ग्यालथुममा रहेको झोलुङ्गे पुल पनि वाढीले बगाएको छ । बाढीले धार परिवर्तन गरेर तालामाराङ प्रहरी चौकीको भान्छा पनि बगाएको छ ।

मेलम्ची बजारदेखिमाथि पुल बाँकी नरहेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्यालजेन शेर्पाले जानकारी दिए । खोलामा लेदोसहितको बाढी आएको र बाढी घट्ने, बढ्ने भइरहेको उनले बताए ।

हेलम्बु राजमार्गका विभिन्न स्थानमा पहिरो जाँदा मेलम्चीबाट हेलम्बु सवारीसाधन जान नसकेको मेलम्ची नगर प्रमुख डम्बर अर्यालले जानकारी दिए । रासस



प्रतिक्रिया दिनुहोस !