१३ बैशाख २०८१, बिहिबार

भीष्मराज ढुंगाना र चन्द्र ढकाललाई निलम्बन गर्न कर्मचारी यूनियनको माग

प्रकाशित मिति :  1 August, 2021 2:48 pm


काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना र सञ्चालक चन्द्र ढकाललाई निलम्बन गर्न कर्मचारी यूनियनले माग गरेका छन् । पहिलो पटक नेपालमा बुकबिल्डिङमार्फत् आइपीओ जारी गर्न लागेको सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा संलग्न भएको हुँदा यूनियनले दुवै जनाको निलम्बन माग गरेको हो ।

केही दिनयता विभिन्न सञ्चार माध्यममा बोर्डका अध्यक्ष ढुंगाना र सञ्चालक ढकालले सर्वोत्तम सिमेन्टको सेयरमा भित्री कारोबार गरेको समाचार प्रकासित भइरहेका छन् । बोर्डका सञ्चालक समिति सदस्य ढकालका भाइ तथा मुख्य कारोबार हेर्दै आएका आइएमई समूहका हेमराज ढकालका नाममा २ लाख कित्ता र उनका व्यापारिक साझेदार अम्बिकाप्रसाद पौडेलको नाममा १ लाख ५० हजार कित्ता सेयर नाम सारि गरिएको खुलेको छ ।

आइतबार एक विज्ञप्ती सार्वजनिक गर्दै यूनियनले विभिन्न सञ्चार माध्यमहरूबाट प्रकाशित समाचारहरु र सोही परिप्रेक्षमा अर्थ मन्त्रालयबाट बोर्डको नाममा लेखिएको पत्रका सम्बन्धमा सम्बन्धित व्यक्ति वा पदाधिकारीको व्यक्तिगत विषयमा पुरै संस्थालाई मुछेर पत्र लेखिएकोमा ध्यानाकर्षण भएको जनाएको छ ।

धितोपत्र एनको प्रारम्भिक खण्डको दफा (२) परिभाषामा धितोपत्र र निष्कासन जस्ता शब्दको परिभाषाले संस्थापकलाई जारी गरिएको धितोपत्रलाई समेत जनाउने र बोर्डको कार्यक्षेत्रभित्रै पर्ने हुँदा, सञ्चार माध्यममा प्रकाशित विषयले बोर्डको अध्यक्षको इमान्दारिता, कानुनी प्रावधान र आचार संहिता अनुसार गम्भिर नैतिक पतन भएको देखिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

करिव ३८ लाख लगानीकर्ताको सम्पत्ति एवं झण्डै देशको कुल गार्हस्थ्य उत्पादन बराबरको बजार पुँजीकरण भएको देशको धितोपत्र बजार संरक्षण गर्दै पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डको संस्थागत गरिमालाई आँच आउन नदिने बताइएको छ ।

त्यस्तै विज्ञप्तीमा उक्त कार्यमा संलग्नहरुलाई तत्काल निलम्बन गरी ऐनको दफा ७(७), १२, ९१ र ९२ तथा अन्य विद्यमान कानूनका आधारमा सम्बन्धित तत् निकायले बजारको पारदर्शिता र स्वच्छता कायम राख्नका लागि अविलम्ब छानबिन कार्य अगाडि बढाई दोषी देखिएकालाई हदैसम्मको कारवाही गर्न माग गरिएको छ ।

अहिले सर्वोत्तम सिमेन्ट सेयर खरिद प्रकरणमा बोर्डका अध्यक्ष ढुंगाना र संचालक ढकालको नाम आएको नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनका अध्यक्ष राज बहादुर जिसीले लुम्बिनी संचारसँग बताए ।

ढकालकै भाइ हेमराज ढकालले सर्वोच्चमको शेयर खरिद गरेको खुलेको छ । जिसीले आफै संचालक रहेको व्यक्तिले यसरी शेयर खरिद गरेको खुलेको विषयले आफूहरुलाई गम्भीर बनाएको बताए ।

यो प्रकरणले संस्थाको गरिमा धमिल्याएको भन्दै उनले “बोर्डमा हामीले थाहा नपाएका संचालक तथा अन्य सदस्य, कर्मचारी पनि कोही संलग्न हुनसक्छन् त्यसैले सत्य तथ्य छानविन गरेर दोषीलाई कडा कारवाहीको माग गरेका हौं ।”

 



प्रतिक्रिया दिनुहोस !