२१ बैशाख २०८१, शुक्रबार

सिड्नीमा ३० बर्ष यताकै सर्वाधिक वर्षा, न्यू साउथ वेल्समा लागेको आगो निभ्यो

प्रकाशित मिति :  10 February, 2020 12:26 pm


काठमाडौं, २७ माघ । 

अस्ट्रेलियाको सिड्नीमा तीन दशकयताकै सर्वाधिक वर्षा भएको छ। वर्षापछिको बाढीले त्यहाँको जनजीवन प्रभावित भएको छ। हजारौं मानिस घर छाड्न बाध्य भएका छन्।बर्षा निरन्तर भएका कारण मानिसको दैनिकी जीवनमा समेत प्रभाव परेको छ ।

४ दिनसम्म लगातार सिड्नीमा करीब ४०० मिलिमिटर पानी परेको छ। अस्ट्रेलियाको मौसमसम्बन्धी निकायले त्यहाँ अचानक थप बाढी आउन सक्ने र त्यसले ज्यान जोखिममा पार्न सक्ने चेतावनी दिएको छ।

त्यसैगरी साउथ वेल्स राज्यका  फैलिएको डढेलोलाई वर्षाले निभाइदिएको काम गरेको छ । करीब साढे २ महीनादेखि स्वालहेवन नगरनजिकै फैलिरहेको करोवान नामक डढेलो पनि निभेको छ। जुन डढेलोले ५०० हेक्टर क्षेत्रफल प्रभावित पार्दै ३१२ वटा घर नष्ट गरिदिएको थियो।

मौसम विभागले डढेलो प्रभावित क्षेत्रहरू नै बाढीको बढ्ता खतरामा रहेका र तीव्र गतिमा बग्ने भेलले ठूलो परिमाणमा फोहोर बगाएर ल्याउने चेतावनी दिएको छ। न्यू साउथ वेल्समा ३१ वटा छुट्टाछुट्टै डढेलो लागिरहेको थियो।

सिड्नीको अधिकांश पानीको माग पूर्ति गर्ने वारागाम्बा बाँध ७० प्रतिशत भरिन लागेको छ। अस्ट्रेलियाको सबभन्दा धेरै जनसंख्या भएको न्यू साउथ वेल्स राज्यको सम्पूर्ण तटीय क्षेत्रमा हाल मौसमसम्बन्धी कडा चेतावनी जारी गरिएको छ।

सिड्नीमा मात्र कम्तीमा २०० जना मानिसलाई आपत्कालीन सेवाका कर्मचारीहरूले उद्धार गरेका छन्। त्यहाँको रेल तथा डुङ्गा सेवा अवरुद्ध भएको छ।

सिड्नीको एउटा मुख्य स्टेशन सेन्ट्रलका कैयौँ प्ल्याटफर्म पानीमा डुबेका छन्। दर्जनौँ स्कूल बन्द रहेका छन्। मानिसहरूलाई सकेसम्म घरमै बस्न भनिएको छ। शहरका तल्ला भू-भागमा बसिरहेकाहरूलाई त्यहाँबाट अन्यत्र जान वा जानको निम्ति तयार रहन भनिएको छ।साताभरि थप वर्षाको पूर्वानुमान गरिएको छ। एजेन्सी 

 



प्रतिक्रिया दिनुहोस !