१७ बैशाख २०८१, सोमबार

जलवायु परिवर्तन थिंक ट्यांक स्थापनाको तयारी

प्रकाशित मिति :  12 February, 2020 7:51 am


काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा जलवायु परिवर्तन महत्वपूर्ण विषय बनेकाले सरकारले जलवायु परिवर्तन थिंक ट्यांक समूह (विज्ञ समूह) स्थापनाको तयारी गरेको छ ।

बहुविषय र मन्त्रालयहरूसँग सम्बन्धित यो विषयलाई राष्ट्रिय रूपमा सम्बोधन गर्न र अन्तर्राष्ट्रिय समुदायबाट थप वित्तीय सहयोग र प्रविधि भित्र्याउन यो समूहको गठन गर्ने तयारी भएको हो ।

‘जलवायु परिवर्तनको विषयमा थिंक–ट्यांक समूह स्थापनाको तयारीको अवधारणा–पत्र तयार भइसकेको छ,’ वन तथा वातावरण मन्त्रालयका सिचव डाक्टर विश्वनाथ ओलीले बताए ।

उनले जलवायु परिवर्तन नीति २०७६ ले तोकेका आठवटा विषयगत क्षेत्र र चारवटा अन्तर–विषयत क्षेत्रसँग सम्बन्धित विशेषज्ञसमेत गरी प्रस्तावित समूहमा १५ देखि २० जना सदस्यहरू रहने प्रस्ताव गरिएको छ। सरकारबाहिर रहेका विषयगत विशेषज्ञहरूको समेत प्रतिनिधित्व गराएर यो संरचनालाई स्थायी प्रकृतिको बनाउने तयारी सरकारको छ ।

जलवायु परिवर्तन नीति २०७६ ले तोकेका आठवटा विषयगत क्षेत्रमा कृषि, खाद्य सुरक्षा, वन, जलस्रोत, पर्यटन, उद्योेग तथा यातायात, खानेपानी तथा सहरी बसोबास रहेका छन् भने चारवटा अन्तर–विषयत क्षेत्रमा लैंगिक तथा सामाजिक समावेशीकरण, जलवायुमा वित्तीय सहयोग, अनुसन्धान तथा प्रविधि हस्तान्तरण र क्षमता अभिवृद्धि समेटिएका छन् ।

‘जलवायु परिवर्तनको क्षेत्रमा सम्बन्धित अन्तर्राष्ट्रिय वार्ताहरूलाई प्रमाणका आधारमा अगाडि बढाउन सरकारलाई सहयोग गर्न तथा जलवायुको क्षेत्रमा थप वित्तीय सहयोग र प्रविधि भित्र्याउन प्रस्तावित संरचनाले काम गर्नेछ,’ राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर कृष्णप्रसाद ओलीले बताए। अन्तर्राष्ट्रिय समुदायसँग छलफल अगाडि बढाउँदा नेपालीहरू द्वीतिय तथ्यांकहरूमा आधारित हुने गरेको उल्लेख गर्दै उनले भने, ‘अब नेपाली वैज्ञानिकहरू स्वयंले जलवायु परिवर्तनसम्बन्धी अध्ययनहरू गरी प्रमाणमा आधारित आधारभूत तथ्यांकसहित प्रस्तुत हुनुपर्छ।’ नागरिक दैनिकले खबर छापेको छ ।



प्रतिक्रिया दिनुहोस !