पर्वतमा पहिराले पुरिएर पाँचको मृत्यु, तीन बेपत्ता
प्रकाशित मिति : 3 September, 2021 11:31 am
पर्वत। पर्वतका विभिन्न ठाउँमा पहिराले पुरिँदा पाँच जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । गए रातिको भीषण वर्षापछि पहिरो जाँदा कुश्मा नगरपालिका–३ दुर्लुङमा दुई जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन् ।
पहिरामा पुरिएका एकै घरका पाँच जनामध्ये १५ वर्षीया विमला पौडेल र ११ वर्षीया विनिता पौडेलको शव निकालिएको छ । घरका तीन बेपत्ता रहेको हुनाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिए ।
यस्तै कुश्मा नगरपालिका–११ पकुवामा पहिरामा पुरिएका ३५ वर्षीया दुर्गा पौडेल र उनका छ वर्षीय छोरा गणेशको शव फेला परेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले जानकारी दिए । मोदी गाउँपालिका–५ अम्बोटमा पहिरामा पुरिएर ५० वर्षीया ठुलीमाया थापाको मृत्यु भएको छ ।








