२२ मंसिर २०८२, सोमबार

रोल्पामा बाढीपहिरोका कारण विभिन्न ठाउँमा जनधनको क्षति,२ जनाको मृत्यु

प्रकाशित मिति :  6 September, 2021 1:18 pm


रोल्पा । अबरिल वर्षापछि आएको बाढीपहिरोले रोल्पाका विभिन्न ठाउँमा जनधनको क्षति पुर्‍याएको छ ।

रोल्पा नगरपालिका वडा नम्बर १० बाम्लामा गएराति पहिराले घर पुर्दा पाँच बर्षीय बालक र ७० बर्षीय महिलाको मृत्यु भएको रोल्पाका प्रहरी प्रमुख डिएसपी नरेशराज सुवेदीले जानकारी दिए । झण्डै दुई सय मिटर माथिबाट पहिरो घरमा खसेर घर पुरिएको डिएसपी सुवेदीले जानकारी दिए ।

पहिरोका कारण २ जना सामान्य घाइते भएका छन् भने एउटा घरमा पूर्ण रुपमा क्षति पुगेको र अन्य दुई घरमा सामान्य क्षति पुगेको उनको भनाई छ ।

सुनिल स्मृति गाउँपालिका वडा नं. ४ सुलिचौर बजारमा मर्मतका लागि ग्यारेजमा राखिएको रा १ प २०६८ नम्बरको बस बगाएको छ । फगाम खोलामा आएको बाढीले सनलाईट बोर्डिङ स्कूलको बस बगाएको हो । वडाअध्यक्ष गञ्जबहादुर क्षेत्रीका अनुसार नयाँ वसपार्कको पर्खाल भत्काएर बाढी पसेर बस बगाएको हो ।

सुनछहरी गाउँपालिका वडा नम्बर ६ ढुङ्सीमा केही गोठ सहित पशु चौपाया पुरेको छ । २ जना सामान्य घाइते भएको वडा अध्यक्ष अमरजीत पुनले उल्लेख गरेका छन् । खालुमा पहिरो जाँदा बिजुली अवरुद्ध भएको छ ।

सुनछहरी गाउँपालिका ५ कसलाको नमुना निमावि पहिरोको जोखिममा परेको छ । यसअघि नै विद्यालयको चौरको भाग केही भत्केकोमा गएराति ठूलो भाग भत्किएको छ ।

विद्यालयका प्रध्यानध्यापक धर्मेन्द्र रोकाले विद्यालय जोखिममा परेको जानकारी दिए । उनका अनुसार विद्यालयमुनि गएको पहिरो रोक्ने वा विद्यालय स्थानान्तरण गर्नेबाहेक अर्को विकल्प देखिएको छैन । रोकाले पहिरोले विस्तारै विद्यालयको भाग तान्दै गएको जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !