एमसीसी प्रयोग गरेर देशभित्र र बाहिरबाट सत्ता गठबन्धनलाई तोड्ने प्रयास भइरहेको छ : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी प्रयोग गरेर देशभित्र र बाहिरबाट सत्ता गठबन्धनलाई तोड्ने प्रयास भइरहेको दाबी गरेका छन् ।
पार्टी कार्यालय पेरिसडाँडामा आज सुरेश वाग्ले (बासु) र भीमसेन पोखरेल (वैरागी) को २२ औं स्मृति कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यथास्थितिमा एमसीसी पारित हुन नसक्ने प्रष्ट पार्दै प्रचण्डले एमसीसी प्रयोग गरेर सत्ता गठबन्धन फुटाउने षडयन्त्र भइरहेको बताएका हुन् ।
अध्यक्षले आफूहरू गठबन्धनलाई बचाएर सकारात्मक रुपमा अघि बढ्न तयार रहेको बताए । अर्कोे वर्ग पूरै ताकतका साथ गठबन्धनलाई तोड्ने र प्रतिक्रान्तिलाई निरन्तर अगाडि बढाउने खेलमा लागेको प्रचण्डको भनाई थियो ।
उनले आफूहरू माओवादी केन्द्रलाई रुपान्तरण र क्रान्तिकारी दिशामा अगाडि बढाई छाड्ने भनेर सङ्कल्पको साथ केन्द्रीय समिति र स्थायी समितिका बैठकहरू अगाडि बढाइएको बताए । अध्यक्ष प्रचण्डले तल्लोस्तरसम्म योजनावद्ध ढंगले पार्टीलाई पूनर्निर्माण गरी व्यवस्थित गर्न लागिपरेको बताए ।
अध्यक्ष प्रचण्डले एमालेले डलर भित्राएर पार्टीभित्र गुट उपगुट बलियो बनाउनु खोजेको टिप्पणी गरे । उनले सूर्य चिन्ह र मदन भण्डारीको नाम प्रयोग गरेर एमालेका नेतृत्वले पदका लागि मात्र राजनीति गरेको आरोप लगाए ।
एमालेजस्तै हुने हो भने माओवादी पार्टीको आवश्यकता र औचित्य नरहने अध्यक्ष प्रचण्डको भनाई थियो । उनले भने,“क्रान्ति गर्छौं भन्ने अनि प्रतिक्रान्ति गर्ने र जनतालाई धोका दिनुभन्दा विघटन गर्न उचित हुन्छ ।”








