१२ औं राष्ट्रिय जनगणनाको नयाँ कार्यतालिका सार्वजनिक
काठमाडौं । केन्द्रीय तथ्यांक विभागले १२ औं राष्ट्रिय जनगणनाको नयाँ कार्यतालिका सार्वजनिक गरेको छ ।
काठमाडौं थापाथलीस्थित विभागको सभाकक्षमा पत्रकार सम्मेलन गर्दै विभागले आज नयाँ तालिका सार्वजनिक गरेको हो ।
निषेधाज्ञापछि जनगणनाको कार्यक्रम रोकिएको थियो । स्थिति सहज बन्दै गएपछि विभागले निर्माण गरी पेस गरेको नयाँ कार्यतालिका मन्त्रिपरिषद्बाट स्वीकृत गरेपछि विभागले सार्वजनिक गरेको हो । विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले पत्रकार सम्मेलनमा आगामी कात्तिक २५ गतेबाट मंसिर ९ गतेभित्र देशभरि एकसाथ मूल जनगणना सम्पन्न हुने जानकारी दिए ।
तालिकाअनुसार जनगणनाका खटाइने ८ हजार ५ सय सुपरिवेक्षकलाई यही भदौ २६ गतेभित्र नियुक्त गरी तत्कालै दुई दिने तालिम दिइने छ । उनीहरू भदौ ३० गतेबाट असोज १८ गतेभित्र घर तथा घर परिवार सूचिकरण गर्न खटाइने छ ।
कात्तिक पहिलो साता ३९ हजार गणक नियुक्त गरी दोस्रो साता चार दिने तालिम दिइने छ ।
जनगणनामा ८० वटा प्रश्नावली निर्माण गरिएको छ । प्रश्नावली भर्नेछन् । देशभरि ७० लाख घरपरिवार रहेका छन् भने ३ करोड ३ लाखभन्दा बढी जनसंख्या रहेको प्रक्षेपण गरिएको छ ।








