१६ बैशाख २०८१, आइतबार

स्वास्थ्यको पूर्ण ख्याल गर्दै तिज मनाउन उपराष्ट्रपतिको आग्रह

प्रकाशित मिति :  9 September, 2021 7:32 am


काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले स्वास्थ्यको पूर्ण ख्याल गर्दै तिज मनाउन आग्रह गर्दै शुभकामना दिएका छन् ।

उपराष्ट्रपति पुनले शुभकामना सन्देश जारी गर्दै विश्वव्यापी महामारी कोरोना भाइरसको असर कायमै रहेकोले सरकारबाट जारी स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी तिज मनाउन पनि आग्रह गरेका छन् ।

शुभकामना सन्देशमा उपराष्ट्रपति पुनले भनेका छन्,“आज विशेष गरी हिन्दु महिलासहित अधिकांश नेपाली महिला दिदीबहिनीहरूले परम्परागत मूल्य मान्यतासहित नाचगान गरेर तिज मनाउँदै हुनुहुन्छ । पानीसमेत नपिएर मनाउने परम्पराले तिजमा धेरै दिदीबहिनीहरूको स्वास्थ्यमा असर गरेको तथ्यलाई हृदयङ्गम गर्दैै आफ्नो स्वाथ्यको पूर्ण ख्याल गरी तीज मान्न म दिदीबहिनीहरूलाई आग्रह गर्दछु । साथै विश्वव्यापी महामारी कोरोना भाइरसको असर कायमै रहेकोले सरकारबाट जारी स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी तीज मनाउन आग्रह गर्दछु ।”

नेपालको राजनीतिक परिवर्तन र नेपाललाई विश्वसामु परिचति गराउन नेपाली महिलाहरूको योगदान उच्च रहेको स्मरण गर्दै उपराष्ट्रपति पुनले महिलाहरूको महान् पर्वको अवसरमा नेपालको राजनीतिक परिवर्तन, सामाजिक रुपान्तरण र आर्थिक विकासमा महिलाहरूले पु¥याएको योगदानप्रति उच्च सम्मान व्यक्त गर्दछु भनेका छन् ।

शुभकामना सन्देशमा उनले भनेका छन्,“राज्यको हरेक निकायमा महिलाको समानुपातिक समावेशी प्रतिनिधित्व, पैतृक सम्पत्तिमा महिलाको हक लगायतका राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा प्राप्त महिला अधिकारका लागि गौरव गर्न आग्रहसमेत गर्दछु । साथै, यी उपलब्धीहरूको रक्षाका लागि सचेत हुन र खबरदारी जारी राख्न पनि महिला दिदीबहिनीहरूलाई आग्रह गर्दछु ।”

तिज पर्वले नेपाली महिलाहरूमा आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि गर्दै देशको विकास र समृद्धिमा महिला सहभागीता वृद्धिका लागि प्रेरणा दिने विश्वास लिएको उपराष्ट्रपति पुनको सन्देशमा उल्लेख छ ।

यो वर्षको तिज विगत वर्षहरूमा भन्दा सिर्जनशील बन्ने अपेक्षा लिएको उनको भनाई छ ।

 



प्रतिक्रिया दिनुहोस !