१७ बैशाख २०८१, सोमबार

तिजमा भड्किलो र खर्चिलोपन हटाउँदै जानुपर्छ : राष्ट्रपति भण्डारी

प्रकाशित मिति :  9 September, 2021 8:08 am


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तिजमा भड्किलो र खर्चिलोपन हटाउँदै जानुपर्ने बताएकी छन् ।

हरितालिका तिज २०७८ का अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले तिजको मौलिकतालाई कायम राख्दै यसको सांस्कृतिक महत्वको जगेर्ना गर्न यो पर्व मनाउने सन्दर्भमा देखिने भड्किलो र खर्चिलोपनलाई हटाउँदै जानु आवश्यक रहेको बताएकी हुन् ।

शुभकामना सन्देशमा उनले भनेकी छन्,“तीज पर्वले चेली–माइती‚ साथी–सङ्गी‚ परिवार एवं आफन्तजन बीचको सम्बन्धलाई प्रगाढ बनाउनुका साथै समाज र राष्ट्रलाई समेत भावनात्मक एकताको सूत्रमा आवद्ध गर्न मद्दत पु¥याउँदछ भन्ने मलाई लाग्दछ । यसर्थ हरितालिका तीज पर्वको मौलिकतालाई कायम राख्दै यसको सांस्कृतिक महत्त्वको जगेर्ना गर्न यो पर्व मनाउने सन्दर्भमा यदाकदा देखिने भड्किलोपन र खर्चिलोपनलाई हटाउँदै जानु अति आवश्यक रहेको छ ।”

तिजले समाजमा विद्यमान महिलाविरुद्ध हुने सबै प्रकारका विभेद र असमानताको अन्त्य गर्दै सभ्य, समतामूलक एवं प्रगतिशील समाजको निर्माण गर्न सबैलाई प्रेरणा प्रदान गरोस् भनी राष्ट्रपति भण्डारीले कामना गरेकी छन् ।

उनले भनेकी छन्,“हरितालिका तीजले हाम्रो समाजमा विद्यमान महिलाविरूद्ध हुने सबै प्रकारका विभेद र असमानताहरूको अन्त्य गर्दै सभ्य‚ समतामूलक एवं प्रगतिशील समाजको निर्माण गर्न हामी सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु । साथै¸ कोभिड–१९ को सङ्क्रमणबाट जोगिन जनस्वास्थ्यका मापदण्डहरूको पालना गर्दै सावधानीका साथ यो चाड मनाउनु हुनेछ भन्ने आशा गर्दछु ।”



प्रतिक्रिया दिनुहोस !