१६ चैत्र २०८०, शुक्रबार

ट्यालेन्ट हन्ट : नेपाली प्रतिभालाई बलिउडसँग जोड्ने ‘रियालिटी शो’

प्रकाशित मिति :  10 September, 2021 1:17 pm


कोभिड–१९ को महामारीले सबै क्षेत्र अस्तव्यस्त बन्यो । पहिलो र दोस्रो लहरले एकपछि अर्को अप्ठेरोमा पर्‍यो । विभिन्न क्षेत्रमा क्रियाशील उद्यमी तथा व्यवसायी कोरोनाले थला पर्दै थिए । अत्यास लाग्दो र निरशलाग्दो वातावरणका बीच पनि सम्भावना खोज्न छलफल भयो अनि तयार भयो, ‘काइजेन इन्क प्राइभेट लिमिटेड ।’

काइजेनलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेले, डिजिटल वालेट कम्पनी डिजी पेका अध्यक्ष दिवाकर पाण्डे र पर्यटन क्षेत्रमा काम गर्दै आइरहेको इजी ट्रिप प्रालिका प्रबन्ध निर्देशक सुदेश गौतम क्षेत्रीले । ‘फ्रन्ट’का लागि तयार भइन् सुष्मा मानन्धर । पाण्डे र गौतमको मेहनतमा मानन्धरले ऊर्जा दिइरहेकी छिन् । मानन्धरले भनिन्, “यसको अवधारणाकर्ता पाण्डे र गौतम नै हो तर यसमा म सीइओको भूमिकामा छु, जताततै अप्ठेरो परेको बेला केही गरौं भनेर नै यो कार्यक्रम तयार भएको हो ।”

केही नयाँ गरौं भनिरहेका बेला सल्लाह भयो, ‘रियालिटी सो’ गर्ने । नेपालमा एकल विधामा विभिन्न रियालिटी सो छँदै थिए, त्यसैले नयाँ र फरक गर्न भन्दै गायन, नृत्य र अभिनयको प्रतिभा छान्न ‘मेगा ट्यालन्ट अनलाइन रियालिटी शो’ को परिकल्पना तयार भयो । काइजेनले यसैबेला अवसर जुरायो, भारतीय संगीत क्षेत्रमा स्थापित टी–सिरिज स्टेज वर्कसँगको सहकार्य । संगीत क्षेत्रमा आफ्नो दबदबा बनाएको भारतीय संस्थासँग जोडिएपछि नेपालका लागि आधिकारिक प्रतिनिधि काइजेन इन्क प्राइभेट लिमिटेड थप उत्साहित भएर लाग्यो । नाइस टेलिभिजन एचडीलाई यस अनलाइन ट्यालेन्ट हन्ट रियालिटी शो प्रसारणको जिम्मा छ ।

२०७८ भदौ ११ देखि सुरु भएको कार्यक्रम तिहारअघि सकिने छ । कार्यक्रममा सहभागिताका लागि कुनै शुल्क नलिइने काइजेन इंककी प्रमुख कार्यकारी अधिकृत सुष्मा मानन्धर बताउँछिन् । उनका अनुसार अनलाइनबाट आफ्नो प्रतिभा प्रस्तुत गर्न सकिने छ, जसका लागि भिडियो संकलन भइरहेको छ ।

काइजेन भारतीय संगीत उद्योगको चर्चित कम्पनी टि–सिरिजको भगिनी संस्था टि–सरिज स्टेजवर्क एकाडेमीको नेपालका लागि आधिकारिक प्रतिनिधि हो ।

डिजिटल पेमेन्ट गेटवे ‘डीजी पे’ मुख्य प्रयोजक रहने कार्यक्रममा तीनवटै विधाका विजेतालाई टी–सिरीज इस्टेज वर्क गुहाटीमा काइजेन इन्कको तर्फबाट १० लाख बराबरको छात्रवृत्ति प्रदान गरिनेछ । आयोजकका अनुसार मुख्य विजेताले शत प्रतिशत त्यस्तै उप–विजेताले ७५ प्रतिशत र तेस्रो स्थान हासिल गर्नेले पनि संगीत, नृत्य वा अभिनय प्रशिक्षणमा ५० प्रतिशत छात्रवृत्ति पाउनेछन्।

विजेताहरू तथा प्रतिस्पर्धीहरूले उपाधिसँगै प्रायोजकहरूबाट आकर्षक गिफ्ट ह्याम्परहरूसमेत प्राप्त गर्ने आयोजक काइजेन इंकले बताएको छ । छनौट चरणका ८ सेमिफाइनलका २ र ग्राण्ड फिनालेको १ सहित ११ एपिसोडमा पूरा हुने रियालिटी शोमा विजेताको छनौट निर्णायकको अंक, डिजिटल भोटिङ र सोसल मिडियाको प्वाइन्टका आधारमा गरिनेछ । कार्यक्रममा नेपाली र भारतीय चलचित्र र संगीत उद्योगका हस्तीहरूलाई निर्णायकका रूपमा राखिने आयोजक संस्थाले जनाएको छ ।

यस कार्यक्रमको फ्रन्टमा छिन् काइजन सीइओ सुष्मा । उनले भनिन्, “यो कार्यक्रमले नेपालको संगीत बजारमा रहेका प्रतिभालाई एकेडेमिक अवसर दिनेछ भने भारतीय संगीत उद्योगको एउटा महत्वपूर्ण कम्पनी नेपाली बजारमा पनि जोडिनेछ यो नै महत्वपूर्ण अवसरको रुपमा हामीले लिएका छौं ।”

यो रियालिटी शोमा प्रतियोगीहरूले आफ्नो प्रतिभा प्रस्तुत त गर्न पाउने छन् नै संगीतको प्राज्ञिक क्षेत्रमा प्रवेशको अवसर पाउने छन् ।

मानन्धरले भनिन्,“अहिले नेपालमा राम्रा प्रतिभाहरू छन्, उनीहरूलाई हामी प्रतिस्पर्धामात्रै गराउँदैनौं, संगीतको प्राज्ञिक क्षेत्रमा प्रवेश गराउन सहयोगि भूमिका खेल्न सक्छौं ।” उनले कार्यक्रमकै बीचमा ‘सरप्राइज्’ दिने समेत उल्लेख गरिन् । उनले भनिन्, “हामी प्रतियोगीहरूलाई कार्यक्रमकोबीचमा थप सरप्राइज दिन्छौं, त्यो तयारी गरिराखेका छौं ।”

यो कार्यक्रमले नेपाली प्रतिभालाई थप प्राज्ञिक क्षेत्रमा प्रवेश गराउन र नेपाली कला क्षेत्रलाई उत्कृष्ट बनाउने दाबी गरिन् ।


बहुविधाको प्रतिभाका लागि अवसर

आदित्य हमाल

निर्देशक-ब्राण्ड, दिनेश सोप इन्डष्ट्रिज

मेगा ट्यालेन्ट अनलाइन रियालिटी शोप्रति हामी निकै उत्साहित छौं । यस्तो कार्यक्रम नेपालमा पहिलो चोटी हुँदैछ । टि–सिरिजसँग सम्बद्धता भएको कार्यक्रम हो । उनीहरूले पनि एउटा सम्भावना देखेकाले पनि नेपालमा कार्यक्रमको लागि साझेदारी तयार भएका छन् । हामी पनि अफिसियल पार्टनर पनि हौं । यो ट्यालेन्ट हन्ट आफैमा नयाँ अवधारणा हो।

गीत, नृत्य र अभियनय तीनै विधाको यो संयोजन छ । यो एउटा आफैमा ठूलो प्लेटफर्म हो । प्रतिभा भएका तर आर्थिक अवस्था कमजोर भएकालाई नरोको्स भन्नका लागि यो ट्यालेन्ट हन्ट प्रतियोगिता हो । आफ्नो प्रतिभा देखाउने यो राम्रो अवसर हो । हामीले पनि प्रतिभा भएकालाई प्रोत्साहन गर्दै आएका छौं । म सबैलाई यो कार्यक्रमलाई सहयोग गर्न आग्रह गर्छु।


प्रतिभा निर्खानमा साझेदारी

निरोज गजुरेल

नेसनल सेल्स म्यानेजर, रिलायबल फुड्स एण्ड वेभरेज प्रा.लि

हामीले पहिले भियतनामबाट इनर्जी ड्रिङ्स आयात गथ्र्यौं । अढाई वर्ष पहिले आएको सरकारी नीतिले आयात बन्द थियो । हामीले रेड ब्लुको उत्पादन वैशाखदेखि बजारमा ल्याएका छौं । बाहिरबाट आयात गर्न नपाउने सरकारको नीति भएकाले नेपालमै कारखाना खोलेर उत्पादन गर्न लागेका हौं । हामी बजार प्रबद्र्धनको काममा पनि छौं । यसै क्रममा यो ‘ट्यालेन्ट हन्ट’ जो एउटै स्टेजमा तीन वटा विधामा हुँदै रहेछ, जसले नेपालभर छरिएर रहेका प्रतिभा भएकालाई पनि सहयोग गर्ने उद्देश्यले यो कार्यक्रमसँग सहकार्य गरेका हौं।

सबै मान्छेको सबै ठाउँमा पहुँच हुँदैन, जुन यो कार्यक्रमले सहज बनाइदिएको छ । अर्को कुरा घरमै बसेर पनि आफ्नाे प्रतिभा देखाउन पाउने वातावरण कार्यक्रम आयोजकले गरेको छ । मैले त के देखेको छु भने दूरदराजमा रहेका र प्रतिभा भएकालाई योएउटा राम्रो प्लेटफर्म हो। अर्को कुरा यसमा भारतीय संगीत उद्योगको चर्चित कम्पनी टि–सिरिजको भगिनी संस्था टि–सरिज स्टेजवर्क एकाडेमीका जोडिएको छ । यो आफैमा एउटा अवसर हो।

अहिले कतिपय नेपाली प्रतिभाहरू भारतमा गएर रियालिटी शोमा सहभागी हुने गरेका छन् । कार्यक्रममा उत्कृष्ट भएर एकेडेमीमा जानेलाई फाइदा नै हुने छ । यो एकाडेमी भनेको यस्तो एउटा उत्कृष्ट स्थान हो, जसले कम्तीमा केही न केही नयाँ कुरा सिकेर आफ्नो क्षेत्रमा आफूलाई अब्बल बनाउने छन्।


(टक्सार म्यागजिन, भाद्र २०७८ मा प्रकाशित सामग्री)



प्रतिक्रिया दिनुहोस !