एमसीसी उपाध्यक्ष सुमारले अर्थमन्त्रीलाई भनिन्,‘संसदबाट शीघ्र अनुमोदन गरी कार्यान्वयनमा लैजानुस्’
काठमाडौं । मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फतिमा सुमारले कम्प्याक्टलाई संसदबाट शीघ्र अनुमोदन गरेर कार्यान्वयनमा लैजान आग्रह गरेकी छन् ।
अर्थमन्त्री जनार्दन शर्मासँगको भेटमा सुमारले एमसीसी संसदबाट छिटो पारित गर्न आग्रह गरेकी हुन् ।
जवाफमा अर्थमन्त्री शर्माले नेपाल र मिलेनियम च्यालेन्ज कर्पोरेसनबीच सन् २०१७ मा सम्पन्न मिलेनियम च्यालेन्ज कम्प्याक्टका विषयमा राजनैतिकस्तरमा छलफल भइरहेको बताएका छन् ।
अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ,“भेटका अवसरमा माननीय अर्थमन्त्री जनार्दन शर्माले नेपाल र मिलेनियम च्यालेन्ज कर्पोरेसनबीच सन् २०१७ मा सम्पन्न मिलेनियम च्यालेन्ज कम्प्याक्टका विषयमा राजनैतिकस्तरमा छलफल भइरहेको बताउनुभयो । सो अवसरमा उपाध्यक्ष सुमारले कम्प्याक्टलाई संसदबाट शीघ्र अनुमोदन गरी कार्यान्वयनमा लैजान आग्रह गर्नुभयो ।”
नेपालमा एमसीसीको विषयलाई लिएर विवाद भइरहेका बेला सुमार चार दिने नेपाल भ्रमणमा छिन् । उनले प्रधानमन्त्री,प्रमुख प्रतिपक्षी दलका नेता,पूर्व प्रधानमन्त्री लगायतका नेतासँग उच्चस्तरीय राजनीतिक भेटवार्ता गरिरहेकी छन् ।








